


दमाैली, १ मङ्सिर । व्यास नगरपालिकाको आयोजना र निर्मल माविको व्यवस्थापनमा व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल मावि खेलमैदानमा साेमबारदेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ ।
विद्यार्थीमा भएका प्रतिभा पहिचान गर्ने उद्धेश्यसहित राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा नगरपालिकाभित्रका ३० विद्यालयको सहभागिता रहेको नगर खेलकुद विकास समितिका अध्यक्ष एवं व्यास नगरपालिका–६ का वडाध्यक्ष जीवन गुरुङले जानकारी दिए ।
प्रतियोगितामा छात्रछात्रा भलिबल, कबड्ी, दौड, मार्सल आर्ट लगायतमा विद्यार्थीबीच प्रतिस्पर्धा गराइनेछ ।


प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले खेलकुद जीवनको अभिन्न अङ्ग भएको र स्वस्थ रहनका लागि खेलकुद अपरिहार्य भएको उल्लेख गरे । श्रेष्ठले राष्ट्रपति रनिङशिल्डले विद्यार्थीबीच भावनात्मक एकता विकासका लागि पनि सहयोग पुग्ने चर्चा गरे ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलकुदले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न सहयोग पुग्ने बताए । पालिकास्तरीयबाट उत्कृष्ट भइ जिल्लास्तरमा जाने खेलाडीले नगरपालिकाको नाम राख्न उनले आग्रह गरे ।
नगर खेलकुद विकास समितिका अध्यक्ष गुरुङले विद्यालयमै खेलकुदका गतिविधि सञ्चालन गर्न सम्पूर्ण विद्यालयलाई आग्रह गरिएको बताए । विद्यालयस्तरबाटै खेलकुद गतिविधि अगाडी बढे दक्ष खेलाडी उत्पादनमा सहयोग पुग्ने उनकाे भनाइ थियो ।