


दमौली, १ मंसिर । व्यास नगरपालिकाको आयोजनामा सोमबारदेखि सुरु भएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको पहिलो दिन तीन स्वर्ण जित्दै आदिकवि भानुभक्त मावि प्रथम स्थानमा छ । आदिकविका राजकुमार विकले तीन हजार मिटर दौड, सीता नेपालीले सर्टपुट र राहुल सेनले आठ सय मिटर दौडमा स्वर्ण पदक जितेकाे व्यास-६ का वडाध्यक्ष एवं रनिङशिल्ड व्यवस्थापन समितिका संयाेजक जीवन गुरुङले जानकारी दिए ।


प्रतियोगितामा महेन्द्रज्योति माविले एक स्वर्ण, तीन रजत र तीन कास्य पदक जितेको छ । सत्यवती माविले एक स्वर्ण, एक रजत र एक कास्य, भानु माविले एक स्वर्ण, एक रजत, ग्रिनस्टार बोर्डिङ स्कूलले एक स्वर्ण, बाराही आमाविले एक रजत र एक कास्य, सिद्धबेनीले एक रजत, क्यामिन माविले एक कास्य, माहेन्द्री माविले एक कास्य पदक जितेको छ ।
तीन हजार मिटर दौड छात्रामा भानु माविका उमादेवी गुरुङ प्रथम, आठ सय मिटर दौड छात्रामा सत्यवती माविका युना मझकोटी प्रथम, लङजम्प छात्रमा महेन्द्रज्योतिका आरिफ मियाँ प्रथम, छात्रातर्फ ग्रिनस्टारका सुजाता कुमाल प्रथम र सर्टपुटमा आदिकवि सीता नेपाली प्रथम भएका छन् ।
