तनहुँ : बहुविवाह मुद्दाका फरार प्रतिवादी ९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको भीमाद नगरपालिका–५ बस्ने ३२ वर्षीया हरिमाया नेपाली रहेका प्रहरीले जनाएको छ ।
निजलाई सम्बन्धित घरवतनबाटै पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । निजलाई तनहुँ जिल्ला अदालतले विसं २०६८ असार २८ गते एक वर्ष ६ महिना कैद र रु १५ हजार जरीवानाको फैसला सुनाएको थियो । पक्राउ परेका नेपालीलाई शुक्रबार जिल्ला अदालत पेश गरिएकामा अदालतको आदेश बमोजिम कैद भुक्तानका लागि कारागार कार्यालय कास्की पठाइएको छ ।
त्यस्तै केही सार्वजनिक अपराध मुद्दामा फरार रहेका एक प्रतिवादी पाँच वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–१३ बस्ने ३० वर्षीय प्रेमबहादुर आले रहेका छन् । निजलाई जिल्ला अदालतले विसं २०७२ चैत १६ गते रु पाँच हजार जरीवानाको फैसला सुनाएको थियो । पक्राउ परेका आलेलाई जरीवाना भुक्तानका लागि कारागार पेश गरिएको छ ।
प्रहरीले विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरीवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो तिर्न बाँकी रहेका प्रतिवादीलाई धमाधम पक्राउ गरिरहेको छ ।