


काठमाडौँ, १६ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा साबिक विजेता जनकपुर बोल्ट्स विजयी भएको छ ।
जनकपुरले चितवन राइनोजलाई ६ विकेटले हरायो । जनकपुरको प्रतियोगितामा पहिलो जित हो । यसअघि लगातार चार खेल हारेको जनकपुरले आज दुई अङ्क जोड्यो । चितवनले भने पाँच खेलबाट दुई खेल मात्रै जितेको छ । जितका लागि पाएको १७७ रनको लक्ष्य १७.३ ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो । यसमा माज सदाकत र अनिल साहले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक जोडे ।
माजले ६३ र अनिलले ६१ रन बनाए । बलिङतर्फ चितवनका कमलसिंह ऐरी, साहिल तनवीर र अमरसिंह रौटेलाले एक÷एक विकेट लिए । यसअघि त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस जितेर ब्याटिङ पहिला ब्याटिङ गरेकामा निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १७६ रन बनायो । जसमा ओपनरद्वय डेविड मलान र अर्जुन साँउदले अर्धशतक हिर्काए ।
मलानले ८० र अर्जुनले ५२ रनको योगदान गरे । यी दुवै ब्याटरबीच ११२ रनको शतकीय साझेदारी समेत भयो। जनकपुरका अनिल शाह, रूपेश सिंह, माज सदाकत र जान निकोल लोफ्टी–इटनले एक÷एक विकेट लिए । आजै अपराह्न ४ः०० बजे दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।