तनहुँ जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड भिमादमा सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तनहुँ जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड भिमादमा सुरु

    खबरपुञ्ज संवाददाता

    १८ मंसिर २०८२, बिहीबार

    दमौली, १८ मंसिर । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा आजदेखि भिमाद नगरपालिका–६ रङ्गशालामा सत्रौ जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । खेलकुद विकास समितिले पहिलोपटक सदरमुकाम भन्दा बाहिर राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना गरेको हो । यसअघि सधैं दमौलीमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना हुने गर्दथ्यो ।

    प्रतियोगितामा जिल्लास्थित चार नगरपालिका र छ गाउँपालिकाबाट पाँच सय ५० विद्यार्थीको सहभागिता रहेको खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए ।

    प्रतियोगिता अन्तर्गत एक हजार पाँच सय मिटर दौड, एक सय मिटर दौड, सटपुट, लङजम्प, चार सय मिटर दौड, ज्याभलिन थ्रो, एक सय मिटर दौड लगायतमा विद्यार्थीबीच प्रतिस्पर्धा गराइनेछ ।

    प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले खेलकुदले नैतिकताको विकास गर्ने बताउँदै अनुशासित भएर खेल प्रदर्शन गर्न आग्रह गरे । नेपाललाई विश्वमाझ चिनाउने प्रमुख माध्यम खेलकुद रहेको भन्दै स्थानीय तहहरुले खेलकुदमा लगानी गर्नुपर्ने उनकाे भनाइ थियाे ।

    भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले खेलकुद क्षेत्रको विकासका लागि पालिका प्रतिबद्ध रहेको बताए ।

    निमित्त प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले खेलकुदले शारीरिक तथा मानसिक विकास गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे ।