आइसोलेशनमा बस्ने सङ्क्रमितको गुनासो : निस्तै खाना खानुपर्ने बाध्यता छ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आइसोलेशनमा बस्ने सङ्क्रमितको गुनासो : निस्तै खाना खानुपर्ने बाध्यता छ

    खबरपुञ्ज संवाददाता

    १५ भाद्र २०७७, मंगलवार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–३ स्थित व्यास गुफा नजिकै रहेको आइसोलेशनमा बस्ने कोरोना सङ्क्रमितहरुले निस्तै खाना खानुपर्ने बाध्यता रहेको बताउनुभएको छ । कोरोना सङ्क्रमण पुष्टि भएर आइसोलेशनमा बसेका सङ्क्रमितहरुले खानासँग तरकारी निकै कम दिने गरेकाले निस्तै खाना खानुपर्ने बाध्यता रहेको गुनासो गर्नुभएको हो ।

    व्यास नगरपालिका–३ का एक सङ्क्रमितले खाना पर्याप्त भएपनि तरकारी कम मात्रामा दिने गरेको बताउनुभयो । “खाना त पुग्दो मात्रामा पाइरहेका छौ, तर दाल तरकारी एकदमै कम मात्रै दिन्छन्, खाना राम्ररी खान पनि पुग्दैन,” उहाँले भन्नुभयो, “कहिलेकाँही त निस्तै पनि खाना खानुपर्ने बाध्यता हुन्छ ।”

    उहाँका अनुसार तरकारी नपुगेर कतिपयले खाना नै छाडेका छन् । “मैले त कहिले खुर्सानीसँग त कहिले महसँग खाना खाने गरेको छु,” उहाँले भन्नुभयो, “यस विषयमा वडाध्यक्षलाई पनि पटक पटक भनेपनि कुनै सुनुवाई भएन ।”

    उहाँका अनुसार कहिलेकाँही निस्तो खाना नरुचेपछि बिस्कुट र स्याउ खाएर भोक मेटाउने गरिएको छ । “निस्तो खाना रुच्दैन, खाना नै फाल्नुपर्ने अवस्था पनि आएको छ, भोक लाग्छ अनि बिस्कुट लगायतका खानेकुरा खाएर भएपनि भोक मेट्छौ,” उहाँले गुनासो गर्नुभयो ।

    आइसोलेशनमा बस्नेहरुलाई बिहान चिया, बिस्कुट, चना अण्डा दिने गरिएको छ । त्यस्तै बिहान ११ बजेभित्र खाना, दिउँसो खाजा र बेलुका पुनः खानाको व्यवस्था गरिएको छ । त्यस्तै कुनै बेला मासु पनि दिने गरेको आइसोलेशनमा बस्नेहरुले बताउनुभएको छ ।

    उक्त आइसोलेशनमा अहिले १५ जना सङ्क्रमित छन् । तीमध्ये कतिपयलाई खोकी लागिरहेको छ । तरपनि अहिलेसम्म डाक्टर नआएको गुनासो छ । “म भदौ ११ गतेदेखि आइसोलेशनमा छु, डाक्टरको मुख पनि देख्न पाएका छैनौ,” उहाँले भन्नुभयो, “एक जना महिला स्वास्थ्यकर्मी र सरसफाई गर्ने मानिस मात्रै छन् ।” उहाँका अनुसार आइसोलेशनमा शौचालयको व्यवस्था भने राम्रो रहेको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले धेरै जना हुँदा अलि अलि तरकारी कम हुनु स्वभाविक रहेपनि यसलाई सुधार गरिने जानकारी दिनुभयो । दमौलीस्थित एक होटलबाट आइसोलेशनमा रहेकालाई खानाको व्यवस्थापन हुँदै आएको र त्यसकाे सम्पूर्ण जिम्मेवारी दमाैली अस्पतालले लिएकाे छ ।