


दमौली, १७ फागुन । पूर्व परराष्ट्रमन्त्री डा. विमला राई पौडेलले देश निर्माणका लागि नेकपा (एमाले)ले जित्नुपर्ने बताएकी छन् । अखिल नेपाल महिला सङ्घ तनहुँले आइतबार दमौलीमा आयोजना गरेको कोणसभामा बोल्दै पौडेलले अहिलेको निर्वाचन देश जलाउने र देश बनाउनेबीचको भएको जिकिर गरिन् ।
उनले जब जब देश अप्ठ्यारोमा पर्छ तबतब हाम्रो नेतृत्व बचाउनका लागि उभिने गरेको बताउँदै भनिन्, “अहिले देश खरानी भएको छ, सपना चुँडिएका छन्, व्यवसायी त्रसित भएका छन् यस्तो अवस्थामा देश जलाउन उक्सायो, उसैलाई ल्याएर आगो निभ्छ भनेर सोच्नु गलत हुनेछ ।”
जब जब एमाले देशको समृद्धिका लागि सरकारमा पुगेर केही गर्न खोज्छ त्यतिबेला विभिन्न नाममा एमालेमाथि हमला हुने गरेको उनको भनाइ थियो । कहिले के को नाममा कहिले के को नाममा देशलाई विध्वंश बनाएर दोष लगाउने काम भइरहेको उनले आरोप लगाइन् ।
नेकपा (एमाले) जातीय विभेद हटाउनुपर्छ, असमानता हटाउनुपर्छ भन्ने पार्टी भएको बताउँदै पौडेलले नेकपा (एमाले) विभेद नगर्ने, विभेद नसहने र विभेद छ भन्ने त्यसको प्रतिकार गर्ने पार्टी भएको बताइन् ।