


दमाैली, ७ चैत । पाँचौ शुक्लागण्डकी महोत्सव–२०८२ अन्तर्गत शनिवार विभिन्न कलाकारले दर्शक नचाएका छन् । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खुल्ला चौरमा आयोजना गरेको महोत्सवमा शनिवार कलाकार भूमिका गिरी, माया गुरुङ, विष्णु खत्री, कृष्ण सुवेदी, शान्ता बर्देवा लगायतको प्रस्तुती रहेको कलाकार व्यवस्थापन उपसमिति संयोजक प्रेम बहादुर श्रेष्ठले जानकारी दिए ।
महोत्सवका प्रचार प्रसार उपसमिति संयोजक बालकृष्ण विकका अनुसार दिउँसोदेखि पानी पर्न रोकिएपछि कलाकारको प्रस्तुती राखिएको थियो । दिउँसो २ बजेबाट शुक्लागण्डकी क्षेत्रमा घाम लागेको थियो । आर्थिक समाजिक खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवद्धन, शुक्लागण्डकी महोत्सव कला सिप र संस्कृतिको संरक्षण भन्ने मुल नाराका साथ शुरु महोत्सव चैत १७ गते सम्म चल्ने छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रालाई समावेश गरिएको आयोजकले जनाएको छ । साथै पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय नृत्य प्रतियोगिता समावेश गरिएको श्रेष्ठले जानकारी दिए । यसपटक टिकटक र रिल्स प्रतियोगिता समेत आयोजना गरिएको छ । महिला उद्यमी विकास समिति र सम्पूर्ण वडा व्यवस्थापन समिति को सह–आयोजनामा महोत्सव भएको हो ।
महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था, सुचना केन्द्र, स्वास्थ्य शिविर लगायत कुल १ सय ७५ स्टल समावेश गरिएको छ । आइतवार कलाकारहरु श्याम राना, होमेश भण्डारी, सुमन थापा लगायतको प्रस्तुती सावेश गरिएको प्रवक्ता सुजन श्रेष्ठले बताए । महोत्सवको शुक्लागण्डकी नगपालिकाकौ जेष्ठ सदस्य १ सय ७ वर्षिय गणेश बहादुर राउत र तनहुँ–२ का नवनिर्वाचित प्रतिनिधी सभा सदस्य श्रीराम न्यौपानेले शुक्रवार संयुक्तरुपमा उद्घाटन गरेका थिए ।