


दमौली, ८ चैत । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा आज बिहान ट्रक दुर्घटना हुँदा दुई घरमा क्षति पुगेको छ । आबुखैरेनीबाट दमौलीतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००२ख २१६२ नम्बरको ट्रक बिहान करिब ९ः३० बजे चालकले नियन्त्रण गुमाउँदा सडक छेउमा रहेको घरमा ठोक्किएको हो ।
दुर्घटनामा स्थानीय महेश श्रेष्ठ र सन्तोष श्रेष्ठको इट्टा–माटोले बनेको जस्ताको छाना भएको घरमा क्षति पुगेको डुम्रे प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक विजयनाथ यादवले जानकारी दिए ।
दुर्घटनामा महेश श्रेष्ठको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने सन्तोष श्रेष्ठको घरमा आंशिक क्षति पुगेको छ । उक्त घरमा मानिस नबस्ने भएकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
ट्रक चालक चितवनको राप्ती नगरपालिका–३ बस्ने ३० वर्षीय आशिष थिन र सहचालक मकवानपुर मनहरी नगरपालिका–९ बस्ने २१ वर्षीय मार्का तामाङ घाइते भएका छन् । उनीहरुको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ ।
