श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने

    खबरपुञ्ज संवाददाता

    ७ चैत्र २०८२, आईतवार

    काठमाडौ, ८ चैत । प्रतिनिधिसभामा रहेका ६ वटा राष्ट्रिय दलमध्ये दुई दलले प्रमुख सचेतकको सुविधा नपाउने भएका छन् । श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) यसबाट वञ्चित हुने भएका हुन्।

    संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ अनुसार प्रतिनिधिसभामा १० भन्दा बढी सदस्य भएको दलले मात्र प्रमुख सचेतकको सुविधा पाउँछ।

    ऐनको परिभाषा खण्डमा ‘दलको प्रमुख सचेतक भन्नाले प्रतिनिधिसभामा दशजना भन्दा बढी सदस्यहरू रहेको दलको नेताले सो दलको प्रमुख सचेतक भई काम गर्न तोकेको सदस्य सम्झनुपर्छ’ भन्ने व्यवस्था छ।

    २१ फागुनको निर्वाचनपछि बनेका ६ दलमध्ये श्रम संस्कृति पार्टीका ७ जना र राप्रपाका ५ जना सांसद मात्र रहेका छन्। यस कारण उनीहरू उक्त सुविधा पाउन अयोग्य भएका हुन्।

    अन्य दलहरूमा भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १८२, नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५ र नेकपाका १७ जना सांसद रहेका छन्।

    कानुनी व्यवस्था अनुसार प्रमुख सचेतकले सवारी सुविधा, दुई जना चालक, छुट्टै कार्यालय, एक जना कार्यालय सहयोगी तथा मासिक १५ हजार रुपैयाँ अतिथि सत्कार खर्च पाउने व्यवस्था छ। स्वकीय सचिवको सुविधा भने हाल निष्क्रिय रहेको जनाइएको छ।

    राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान छ। तर, प्रमुख सचेतक सुविधा पाउन भने १० भन्दा बढी सांसद हुनुपर्ने छुट्टै व्यवस्था रहेको छ।

    यस व्यवस्थाप्रति साना दलहरूले असन्तुष्टि जनाउँदै आएका छन्।