


दमौली, ११ चैत । तनहुँमा उत्पादन हुने मह अन्तर्राष्ट्रिय बजारसम्म पुगेपछि स्थानीय कृषकहरू उत्साहित भएका छन्। शुक्लागण्डकी-१ थप्रेकका कृषक सुरज वाग्ले (भिरखोइरे) ले तनहुँको मह विश्व बजारमा पुगेको सन्दर्भमा आफ्नो अनुभव र अपेक्षा सार्वजनिक गरेका छन्।
उनका अनुसार तनहुँ-१ का सांसद स्वर्णिम वाग्लेले शेयर गरेको भिडियो वा समाचार केवल तनहुँको महसँग मात्र सम्बन्धित नभई उक्त भिडियोमा देखिएको जंगलसमेत आफ्नै घरवरिपरिको क्षेत्र हो। साथै, हाल एमेजनमा बिक्रीका लागि पठाइएको ३००० किलो मह पनि यहॉकै कृषकको उत्पादन रहेको उनले स्पष्ट पारे।
नेपाल सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत उक्त क्षेत्र मौरी पालनका लागि उपयुक्त ठहरिएपछि प्रारम्भिक चरणमा ‘मौरी पकेट’ कार्यक्रम सञ्चालन गर्दै पछि ‘मौरी ब्लक’ का रूपमा विकास गरिएको उनले बताए। यस महलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन विशेषगरी अध्यक्ष नन्दराज थापाले गरेको अथक प्रयासप्रति उनले उच्च सम्मान व्यक्त गरे।
त्यसैगरी, सूर्य नेपाल प्रालिले किसानमाथि विश्वास गर्दै लगानी गर्नुका साथै महको ल्याब परीक्षण, ब्रान्डिङ र बजार विस्तारमा खेलेको भूमिकाको उनले प्रशंसा गरे।
उनका अनुसार गाउँघरमा प्रतिकिलो १००० रुपैयाँमा बिक्री हुँदै आएको महलाई किसानबाट प्रतिकिलो २००० रुपैयाँमा खरिद गर्ने पहल सुरु गरिएको थियौ । किसानको जीवनस्तर उकास्ने लक्ष्यसहित मौरी पालनमा निरन्तर लागिरहेको उल्लेख गर्दै उनले पछिल्लो समय महको महत्व बुझेर प्रतिकिलो ५००० रुपैयाँसम्म मूल्य दिने सहयोगीहरूलाई धन्यवाद समेत व्यक्त गरे।
उनले डा. वाग्लेसँग आग्रह गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रतिकिलो ७५,००० रुपैयाँसम्म मूल्य पर्ने मह उत्पादन गर्ने किसानहरूले कम्तिमा ५० प्रतिशत लाभ पाउने स्पष्ट नीति निर्माण गर्नुपर्ने बताए। साथै, यसलाई अझ व्यापक रूपमा अन्तर्राष्ट्रियकरण गर्ने दिशामा पहल गरिदिनुपर्ने अपेक्षा पनि व्यक्त गरे।