सारङ्गीको धुनमा गुजारा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सारङ्गीको धुनमा गुजारा

    खबरपुञ्ज संवाददाता

    १४ चैत्र २०८२, आईतवार

    दमौली, १५ चैत । बुटवल बसोबास गर्दै आएका ७३ वर्षीय लोकबहादुर गन्धर्व र तनहुँको भानु नगरपालिका–१ माइती भएकी ६० वर्षीया डल्ली गन्धर्व नेपाली सारङ्गी बजाउँदै विभिन्न ठाउँ पुग्छन् ।

    परम्परागत गन्धर्व समुदायसँग सम्बन्धित यी दम्पतीले जीवनको अधिकांश समय सारङ्गीको मधुर धुनमा गीत गाउँदै बिताएका छन् । वर्षौँदेखि उनीहरुको दिनचर्या नै फरक छ, बिहानै घरबाट निस्कने, विभिन्न गाडी चढ्दै यात्रीहरूसामु गीत प्रस्तुत गर्ने ।

    बस, माइक्रोबस वा अन्य सार्वजनिक सवारीसाधनमा यात्रा गर्दै उनीहरु सारङ्गी बजाएर लोकगीत गाउँछिन् । उनीहरुको स्वर र धुनले यात्रीलाई भावुक बनाउँछ, कतिपयलाई आफ्नो गाउँघर, परिवार र विगतका सम्झनामा डुबाउँछ । यात्रीहरूले गीतको प्रशंसा गर्दै स्वेच्छाले दिने रकम नै उनीहरूको आम्दानीको मुख्य स्रोत हो ।

    “कहिलेकाहीँ धेरै राम्रो कमाइ हुन्छ, यहीँबाटै हाम्रो घर चलेको छ”, लोकबहादुरले भने । उनका अनुसार दैनिक कमाइ स्थिर नभए पनि नियमित मेहनतले घरखर्च टार्न गाह्रो छैन । उनीहरुका चार जना छोराछोरी छन् । उनीहरुले यही पेसाबाट कमाएको आम्दानीले छोराछोरीलाई हुर्काएका छन् ।

    “आफ्नै मेहनतले परिवार पाल्न सकेका छौँ, यही नै ठूलो कुरा हो”, डल्ली गन्धर्व भन्छिन् । उनीहरु गीत गाउँदै देशका विभिन्न जिल्ला पुगिसकेका छन् । पूर्वदेखि पश्चिमसम्मका सडकमा यात्रा गर्दै, नयाँ ठाउँ हेर्दै र मानिससँग भेटघाट गर्दै उनीहरुको जीवन बितेको छ ।

    आधुनिक प्रविधिको विकाससँगै मनोरञ्जनका माध्यम परिवर्तन भइरहेका बेला सारङ्गीजस्ता परम्परागत बाजा र गन्धर्व समुदायको पेसा सङ्कटमा परेको छ । नयाँ पुस्ता वैकल्पिक पेसातर्फ आकर्षित हुँदा यस्ता मौलिक कला लोप हुने खतरा बढ्दो रहेको लोकबहादुर बताउँछन् । “यो हाम्रो पहिचान हो, हाम्रो संस्कृति हो । जबसम्म सक्छौँ, हामी यही गर्दै जानेछौँ”, उनले भने ।