


दमौली, २४ चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित पृथ्वी राजमार्गमा प्रहरीले नियन्त्रित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिप तनहुँबाट खटिएको चेकिङ टोलीले सवारी साधन तथा शंकास्पद व्यक्तिहरूको जाँच गर्ने क्रममा भैरहवाबाट पोखरातर्फ जाँदै गरेको लु.१ ख ८३२० नम्बरको यात्रुवाहक बसबाट उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा पर्वत जिल्लाको जलजला गाउँपालिका–७ बासखर्क निवासी १९ वर्षीय कमल परियार रहेका छन्। उनले आफ्नै शरीरको पेटमा लुकाईछिपाई ल्याएको अवस्थामा डाइजेपाम १६ एम्पुल, फेनरगन १५ एम्पुल र बुप्रेनोर्फिन १६ एम्पुल गरी जम्मा ४७ एम्पुल नियन्त्रित लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परियारलाई इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँमा राखी थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ।