


दमौली, २ वैशाख । व्यास नगरपालिका–३ स्थित वाराही आवासीय माध्यमिक विद्यालय गुणस्तरीय शिक्षण, अनुशासित शैक्षिक वातावरण र उत्कृष्ट शैक्षिक नतिजाका कारण विद्यार्थी तथा अभिभावकको पहिलो रोजाइ बन्दै गएको छ।
वि.सं. २०४२ सालमा स्थापना भएको यस विद्यालयले स्थापनाकालदेखि नै शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै आएको छ। जिल्लामै उत्कृष्ट विद्यालयका रूपमा परिचित वाराही आवासीय माविमा हाल करिब १३०० विद्यार्थी अध्ययनरत रहेका छन्। यहाँ कक्षा १२ सम्म अध्यापन हुने व्यवस्था रहेको छ।
विद्यालयले आधुनिक शिक्षण विधि, अनुभवी शिक्षक तथा विद्यार्थीकेन्द्रित सिकाइ प्रणाली अपनाउँदै आएको छ। अतिरिक्त क्रियाकलाप, अनुशासन र नियमित मूल्याङ्कन प्रणालीका कारण विद्यार्थीको सर्वाङ्गीण विकासमा टेवा पुगेको विद्यालय प्रशासनले जनाएको छ।

विद्यालयका निर्देशक सन्देशनारायण श्रेष्ठका अनुसार गुणस्तरीय शिक्षा प्रदान गर्नु नै विद्यालयको प्रमुख लक्ष्य रहेको छ।
उनले भने, “हामीले केवल पाठ्यक्रममा सीमित नभई विद्यार्थीको व्यवहारिक ज्ञान, नैतिकता र सीप विकासमा पनि विशेष जोड दिएका छौँ। यही कारणले हाम्रो विद्यालयप्रति अभिभावक र विद्यार्थीको विश्वास बढ्दै गएको हो।”
श्रेष्ठले विद्यालयमा दक्ष शिक्षक, आधुनिक प्रविधिको प्रयोग तथा नियमित अनुगमनका माध्यमबाट शैक्षिक स्तर उकास्ने प्रयास निरन्तर भइरहेको बताए। उनले आगामी दिनमा अझ प्रभावकारी शिक्षण प्रणाली लागू गर्दै विद्यालयलाई राष्ट्रिय स्तरमै उत्कृष्ट बनाउने लक्ष्य रहेको उल्लेख गरे।
विद्यालयले विगतका वर्षहरूमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ, जसले जिल्लाभरिका विद्यार्थीलाई आकर्षित गरेको छ। अभिभावकहरूले पनि यहाँको अनुशासित वातावरण, सुरक्षित आवासीय सुविधा र गुणस्तरीय शिक्षणप्रति सन्तुष्टि व्यक्त गरेका छन्।
गुणस्तरीय शिक्षा, उत्कृष्ट नतिजा र विश्वासिलो व्यवस्थापनका कारण वाराही आवासीय मावि अहिले तनहुँ जिल्लामै एक उदाहरणीय शैक्षिक संस्थाका रूपमा स्थापित भएको सञ्चालक सरिता श्रेष्ठले बताइन् ।