महेन्द्रज्योति माविमा ५ वर्षपछि खुल्दै स्रोत शिक्षकको दरबन्दी: अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    महेन्द्रज्योति माविमा ५ वर्षपछि खुल्दै स्रोत शिक्षकको दरबन्दी: अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता

    खबरपुञ्ज संवाददाता

    १३ बैशाख २०८३, सोमबार

    दमौली, १४ वैशाख । व्यास नगरपालिका अन्तर्गतको महेन्द्रज्योति माध्यमिक विद्यालयमा विगत पाँच वर्षदेखि रिक्त रहेको बौद्धिक अपाङ्गता स्रोत शिक्षकको दरबन्दी पूर्ति हुने भएको छ।

    व्यास नगरपालिकाका लेखाजोखा संयोजक ईश्वर बास्तोलाको संयोजकत्वमा सम्पन्न अपाङ्गता स्रोत कक्षाहरूको आकस्मिक बैठकमा सो जानकारी दिइएको हो। सहृदयी मञ्च तनहुँकी अध्यक्ष सावित्री सुवेदीले निरन्तरको संस्थागत वकालत र प्रयासपछि यो रिक्त दरबन्दी खुल्न सफल भएको बताउँदै अब छिट्टै योग्यता पुगेका र अपाङ्गता भएकै व्यक्तिहरूमध्येबाट शिक्षक पदपूर्ति गरिने जानकारी दिइन् ।

    सोही अवसरमा बैठकका सहभागीहरूले महेन्द्रज्योति माविमा शिक्षक नहुँदा पनि अन्य शिक्षकहरूले अतिरिक्त भूमिका निर्वाह गरी ५ वर्षसम्म स्रोत कक्षालाई निरन्तरता दिएकोमा प्रशंसा गरेका थिए। बैठकमा अपाङ्गता भएका बालबालिकाको शिक्षालाई प्रभावकारी बनाउन दक्ष जनशक्तिको आवश्यकता औल्याउँदै दरबन्दी खुल्नुलाई ठूलो उपलब्धिका रूपमा लिइएको छ।

    चण्डिदेवी राष्ट्रिय माविका प्रधानाध्यापक रामचन्द्र पोख्रेल र बुद्ध दाहाल विद्यालयका लेखा समिति सदस्य चीन बहादुर भण्डारीले शिक्षण पेशालाई केवल जागिरको रूपमा मात्र नहेरी सेवाको भावनाले अगाडि बढाउनुपर्नेमा जोड दिए ।

    यसैगरी बैठकमा अन्य विद्यालयका स्रोत शिक्षकहरूले पनि आ-आफ्नो विद्यालयको जनशक्ति र भौतिक अवस्थाबारे रिपोटिङ पेश गरेका थिए। दरबन्दी खुलेसँगै अब महेन्द्रज्योति माविमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरूको सिकाइ र हेरचाहमा थप सुधार आउने विश्वास लिइएको छ।

    १६ जना शिक्षक तथा सरोकारवालाहरूको उपस्थिति रहेको उक्त बैठकको सञ्चालन लेखाजोखा संयोजक ईश्वर बास्तोलाले गरेका थिए भने अध्यक्षता बुद्ध दाहाल बहिरा विद्यालयकी प्रधानाध्यापक कमला पौडेलले गरेकी थिइन् ।