


दमौली, ७ जेठ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध नेपाल सरकारको पछिल्लो कदम तत्काल सच्चिनु पर्ने माग राख्दै तनहुँका पत्रकारले हस्ताक्षर संकलन गरी विरोध जनाएका छन् । नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारीको अध्यक्षतामा आयोजित कोण सभामा बोल्दै तनहुँका पत्रकारहरुले बालेन सरकारले निजी संचारमाध्यममाथि लगाएको अंकुश कुनै पनि अवस्थामा मान्य नहुने बताएका हुन् ।
मुलुकको संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता विपरितको कार्यमा स्वयं बालेन सरकार अग्रसर रहेको प्रति पत्रकारहरुले विरोध जनाएका हुन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाएर राज्यले आफ्नो निरंकुश सत्ता टिकाउने योजना बनाएको अनुभूति भएको नेपाल पत्रकार महासंघ तनहुँ शाखा निवर्तमान अध्यक्ष उज्वल पौडेल र पूर्व अध्यक्ष डम्बर अधिकारीले बताए ।
राजाको कालखण्डमा समेत नगरेको दमन अहिलेको सरकारले गरेकोप्रति नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले कडा आन्दोलनको कार्यक्रम अघि सार्नुपर्नेमा उनीहरुले जोड दिए । वर्तमान सरकारले निजी संचारमाध्यममाथि लगाएको हस्तक्षेपको विरुद्ध अन्तराष्ट्रिय क्षेत्रको समेत ध्यानाकर्षण गराउन आवश्यक रहेको नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारीले बताए ।
हस्ताक्षर संकलन कार्यक्रममा नेपाल पत्रकार महासंघ पूर्व अध्यक्ष ओमकार आचार्य, महासंघ तनहुँ शाखा सल्लाहकार नारायण खड्का, प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश सचिव सन्त नेपाली, प्रेस चौतारी तनहुँका अध्यक्ष विवि श्रेष्ठ लगायतका पत्रकारको उपस्थिती रहेको थियो ।
पत्रकार महासंघ तनहुँका कोषाध्यक्ष पूर्ण विकेले संचालन गरेकोे कोण सभापछिको हस्ताक्षर संकलन कार्यक्रममा तनहुँका पत्रकारहरुले हस्ताक्षर गरी सरकारको कदम सच्चिनु पर्नेमा जोड दिएका थिए ।