


दमौली, ३० जेठ। तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाटारस्थित एक कुखुराको खोरमा पसेको चितुवालाई डिभिजन वन कार्यालय तनहुँको उद्धार टोलीले सकुशल उद्धार गरेको छ ।
स्थानीयवासीले कुखुराको खोरभित्र चितुवा देखेपछि डिभिजन वन कार्यालयलाई जानकारी गराएका थिए । सूचना प्राप्त हुनासाथ शुक्रबार खटिएको प्राविधिक तथा वनकर्मीको टोली घटनास्थल पुगेर चितुवालाई सुरक्षित रूपमा नियन्त्रणमा लिई उद्धार गरेको हो ।
उद्धार गरिएको चितुवालाई हाल डिभिजन वन कार्यालय तनहुँको उद्धार कक्षमा राखिएको छ । चितुवाको स्वास्थ्य अवस्था, उमेर तथा शारीरिक अवस्थाको परीक्षणपछि उपयुक्त प्राकृतिक बासस्थानमा छाड्ने प्रक्रिया अघि बढाइने डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले जानकारी दिए ।
उनले भने, “स्थानीयवासीबाट सूचना प्राप्त भएपछि हाम्रो उद्धार टोली तत्काल घटनास्थलमा पुगेको थियो । सुरक्षित रूपमा नियन्त्रणमा लिएर उद्धार कक्षमा ल्याइएको छ । अहिले यसको स्वास्थ्य अवस्थाको निगरानी भइरहेको छ।”
प्रमुख रानाभाटका अनुसार वन्यजन्तुहरू खाद्यान्नको खोजी, प्राकृतिक बासस्थानमा आएको परिवर्तन तथा वन क्षेत्र आसपास बढ्दो मानवीय गतिविधिका कारण कहिलेकाहीँ बस्ती क्षेत्रमा प्रवेश गर्ने गरेका छन् ।
“चितुवा लगायतका वन्यजन्तु देखिएमा आफैं नियन्त्रणमा लिन खोज्नु जोखिमपूर्ण हुन सक्छ । सम्बन्धित निकायलाई जानकारी गराएमा उद्धार टोलीले सुरक्षित रूपमा व्यवस्थापन गर्छ,” उनले भने ।