


दमौली, ५ साउन । तनहुँ जिल्ला अदालतले आर्थिक वर्ष २०८२/८३ मा कुल २ हजार ४५६ मुद्दामध्ये १ हजार ७९८ वटा मुद्दा फर्छ्योट गरेको छ। अदालतले सार्वजनिक गरेको प्रगति विवरणअनुसार ६५८ वटा मुद्दा अझै बाँकी रहेका छन्। अदालतले उक्त वर्ष ७३.२० प्रतिशत मुद्धा फर्छ्योट गरेको छ।
त्यस अवधिमा जिम्मेवारी सरिआएका ७४७ मुद्धा थिए भने १७०९ नयॉ मुद्धा दर्ता भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा श्रेस्तेदार नन्दप्रसाद आचार्यले जानकारी दिए ।
बाँकी रहेका ६५८ मुद्दामध्ये ४२३ वटा ६ महिनाभित्रका, ८९ वटा ६ महिनादेखि १ वर्षभित्रका, १२१ वटा १ वर्षदेखि १८ महिनाभित्रका र २५ वटा १८ महिनादेखि २ वर्षभित्रका रहेका छन्। अदालतमा २ वर्ष नाघेका कुनै पनि मुद्दा बाँकी नरहेको तथ्यांकले देखाएको छ।
विष्णुप्रसाद उपाध्याय सबैभन्दा बढी मुद्दा फर्छ्योट गर्ने न्यायाधीश
तनहुँ जिल्ला अदालतका न्यायाधीशहरूमध्ये आर्थिक वर्ष २०८२/८३ मा विष्णुप्रसाद उपाध्यायले सबैभन्दा बढी मुद्दा फर्छ्योट गरेका छन्। उनले तनहुँ जिल्ला अदालतमा ६५४ र अन्य अदालतमा १०९ गरी कुल ७६३ वटा मुद्दा फर्छ्योट गरेका हुन्।
न्यायाधीश शम्भुप्रसाद बरालले ५५३ वटा मुद्दा तनहुँ जिल्ला अदालतमा र ४ वटा अन्य अदालतमा गरी ५५७ वटा मुद्दा फर्छ्योट गरेका छन्। त्यसैगरी राजेन्द्रकुमार कटुवालले ५१३ वटा र कमलराज विष्टले ७८ वटा मुद्दा फर्छ्योट गरेका छन्।
अदालतले चारै न्यायाधीशलाई गरी वार्षिक १ हजार ९२६ मुद्दा फर्छ्योट गर्ने लक्ष्य दिएको थियो।