भिमाद बजारमा निःशुल्क शुद्ध पिउने पानी वितरण गर्ने अत्याधुनिक वाटर एटिएम मेसिनको उद्घाटन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भिमाद बजारमा निःशुल्क शुद्ध पिउने पानी वितरण गर्ने अत्याधुनिक वाटर एटिएम मेसिनको उद्घाटन

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०८३, मंगलवार

    दमाैली ५ साउन। भिमाद खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले आम सर्वसाधारण तथा पैदल यात्रुलाई सहज रूपमा निःशुल्क शुद्ध पिउने पानी उपलब्ध गराउने उद्देश्यले भिमाद बजारका कुमार चोक, बसपार्क चोक र क्याम्पस रोड मा जडान गरिएका अत्याधुनिक कमर्सियल RO वाटर प्युरिफिकेसन (वाटर एटिएम) मेसिनको आज आयोजित एक कार्यक्रमका बीच भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीले उद्घाटन गरेका छन्।

    उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख सुवेदीले समयको परिवर्तनसँगै सार्वजनिक सेवाको स्वरूप पनि आधुनिक बन्दै गएको उल्लेख गर्दै विगतमा चौतारा, पाटी–पौवा तथा सार्वजनिक स्थलहरूमा घैलामा पानी राखेर यात्रुलाई सेवा दिने परम्परा रहेको स्मरण गरे। अहिले त्यही सेवाको आधुनिक रूपका रूपमा भिमाद खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले अत्याधुनिक प्रविधिको वाटर एटिएम मेसिन जडान गरी सर्वसाधारणलाई सहज र सुरक्षित पिउने पानी उपलब्ध गराएको भन्दै संस्थाको प्रशंसा गरे।

    उपप्रमुख शारदा खनालले स्वच्छ र सुरक्षित पिउने पानी नागरिकको आधारभूत आवश्यकता भएको बताउँदै यस्तो सेवा विस्तारले स्थानीयवासी, यात्रु तथा बजारमा आउने सेवाग्राहीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरिन्। उनले सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै यसको सही सदुपयोग गर्न सबैलाई आग्रह गरिन्।

    त्यसैगरी भिमाद नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष श्यामसुन्दर जोशीले उक्त मेसिन विशेष गरी पैदल यात्रु, बजारमा आवतजावत गर्ने सर्वसाधारण तथा टाढाबाट आउने नागरिकलाई लक्षित गरी जडान गरिएको बताए। नागरिकले पानी किनेर पिउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले निःशुल्क सेवा सञ्चालनमा ल्याइएको उल्लेख गर्दै उनले मेसिनबाट उपलब्ध हुने पानीलाई घरायसी प्रयोजनका लागि ठूलो परिमाणमा प्रयोग नगरी वास्तविक आवश्यकताका लागि मात्र उपयोग गर्न अनुरोध गरे।

    भिमाद खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष ऋषिराम रानाले संस्थाले मेसिनको नियमित मर्मत, फिल्टर परिवर्तन तथा गुणस्तर परीक्षणलाई निरन्तरता दिँदै सुरक्षित र गुणस्तरीय पिउने पानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। सार्वजनिक हितका लागि सञ्चालनमा ल्याइएको यस सेवाको संरक्षण र सही सदुपयोगमा सबैको साथ र सहयोग आवश्यक रहेको उनले बताए।

    समितिका अनुसार करिब ८ लाख ५० हजार रुपैयाँको लागतमा जडान गरिएका यी अत्याधुनिक वाटर एटिएम मेसिनमार्फत अब भिमाद बजारका विभिन्न स्थानमा आम सर्वसाधारण, पैदल यात्रु तथा बजारमा आवतजावत गर्ने नागरिकले सहज रूपमा निःशुल्क शुद्ध पिउने पानी प्राप्त गर्न सक्नेछन्। साथै मेसिनको दिगोपना र सेवाको निरन्तरताका लागि यसको सही सदुपयोग गर्न समितिले सबैमा अनुरोध गरेको छ।