सांसद न्यौपानेद्वारा सुशासन र सेवा प्रवाह सुधारमा जोड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सांसद न्यौपानेद्वारा सुशासन र सेवा प्रवाह सुधारमा जोड

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०८३, मंगलवार

    दमौली, ५ साउन । तनहुँ–२ का प्रतिनिधि सभा सदस्य श्रीराम न्यौपानेले जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा विभिन्न सरकारी कार्यालयका प्रमुखहरूसँग आर्थिक वर्ष २०८२/८३ को प्रगति समीक्षा तथा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट, योजना र कार्यान्वयनबारे विस्तृत छलफल गरेका छन् ।

    बैठकमा १४ वटा सरकारी कार्यालयले आफ्नो प्रगति, चुनौती र आगामी कार्ययोजना प्रस्तुत गरेका थिए। सांसद न्यौपानेले विकास निर्माणका कामलाई तीव्रता दिने, गुणस्तरीय पुँजीगत खर्च वृद्धि गर्ने तथा जनतालाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने विषयमा विशेष जोड दिएका थिए।

    उनले आगामी आर्थिक वर्षमा गुणस्तरीय पुँजीगत खर्च ९० प्रतिशतभन्दा माथि पुर्‍याउने लक्ष्य राख्दै त्यसका लागि आवश्यक कानुनी, संरचनागत, प्रशासनिक तथा नीतिगत समन्वयमा संसदको तर्फबाट पूर्ण सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

    बैठकमा सडक, खानेपानी, सिँचाइ, ऊर्जा, प्रसारण लाइन, शहरी विकास तथा नयाँ शहर आयोजनालगायत जिल्लाका महत्वपूर्ण पूर्वाधार योजनाहरू समयमै सम्पन्न गर्न सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र जवाफदेहिता आवश्यक रहेको विषयमा पनि उनले ध्यानाकर्षण गराए।

    सांसद न्यौपानेले भूमि प्रशासन कार्यालयमा अनधिकृत रकम असुली हुने गुनासो अन्त्य गर्न, जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीले लामो समय लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गरी प्रविधिमैत्री र चुस्त सेवा प्रवाह सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह गरे ।

    त्यसैगरी, तनहुँ हाइड्रोको सामाजिक उत्तरदायित्व अन्तर्गत माथिल्लो र तल्लो तटीय क्षेत्रमा वितरण गरिएको रकमको न्यायोचित समीक्षा गर्दै बाँकी रकम स्थानीय आवश्यकता र समानताको आधारमा पारदर्शी रूपमा वितरण गर्न उनले सम्बन्धित पक्षसँग अनुरोध गरे।