


काठमाडौं, १३ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै नागरिकलाई संयम अपनाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।
प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। मृतकका परिवारलाई न्यायको अनुभूति गराउने तथा आवश्यक क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै उनले दोषीमाथि कानुनबमोजिम कारबाही हुने विश्वास दिलाएका छन्।
प्रधानमन्त्री शाहले घटनाका क्रममा सुरक्षाकर्मीको गोलीबाट नागरिकको ज्यान जानु तथा घाइते हुनु गम्भीर विषय भएकाले त्यसबारे अनुसन्धान सुरु भइसकेको बताउँदै अनुसन्धानको निष्कर्षका आधारमा कानुनी कारबाही अघि बढाइने बताएका छन्।
सरकारले सम्पूर्ण घटनाको गम्भीर समीक्षा गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक नीतिगत तथा प्रशासनिक निर्णय गरिरहेको प्रधानमन्त्रीको भनाइ छ। नागरिकको सुरक्षा सुनिश्चित गर्दै पीडितलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरेका छन्।
प्रधानमन्त्रीले आक्रोश, प्रतिशोध र उत्तेजनामा नलाग्न तथा कुनै पनि भ्रामक सूचना वा हिंसात्मक गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेका छन्। उनले सामाजिक सद्भाव, आपसी सम्मान र राष्ट्रिय एकतालाई कायम राख्दै शान्तिपूर्ण वातावरण निर्माणमा सबैको सहयोग आवश्यक रहेको बताएका छन्।