तनहुँ/आइतबारदेखि परेको निरन्तर वर्षाका कारण पहिरा जाँदा पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्ड मङ्गलबार बिहानैदेखि अवरुद्ध भएको छ । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादी र आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा पहिराका कारण राजमार्ग अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले दुई ठाउँमा गएको पहिराका कारण बिहानैदेखि राजमार्ग अवरुद्ध रहेको जानकारी दिनुभयो । पहिरा हटाएर राजमार्ग सुचारु गराउने काम भइरहेको र केही समय लाग्ने प्रनाउ तिमिल्सिनाले बताउनुभयो । “दुई ठाउँमा पहिरा गएका कारण राजमार्ग सुचारु गर्न केही समय लाग्छ,” उहाँले भन्नुभयो, “करीब ४०÷४५ मिनेटसम्म राजमार्ग सुचारु हुन्छ ।“ राजमार्ग अवरुद्ध हुँदा पोखरा र मुग्लिङतर्फबाट आउँदै गरेका सवारीसाधन रोकिएका छन् ।
निरन्तरको झरीका कारण जिल्लाका केही ठाउँमा घरहरु जोखिममा परेको प्रहरीले जनाएको छ । सोमबार राति केही घरहरुमा क्षति पुगेको भएपनि विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।