पहिराको बितण्डा : घर भत्किए, सडक भासिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पहिराको बितण्डा : घर भत्किए, सडक भासिए

    खबरपुञ्ज संवाददाता

    ५ श्रावण २०७७, मंगलवार

    तनहुँ/आइतबारदेखि परेको निरन्तर वर्षाका कारण आएको पहिराले तनहुँका विभिन्न भागमा ठूलो क्षति पुगेको छ । वर्षापछि आएको पहिराले मङ्गलबार तनहुँको बन्दीपुर गाउँपालिका, व्यास नगरपालिका, आँबुखैरेनी गाउँपालिका लगायतका ठाउँहरुमा घर भत्किएका छन् भने सडक भासिएको छ ।
    पहिराले बन्दीपुर गाउँपालिका–१ नाहालामा दुई जनाको घर पूर्ण रुपमा भत्किएर क्षति भएको वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिनुभयो । पोख्रेलका अनुसार स्थानीय सुरेश अधिकारी र अर्जुन अधिकारीको पक्की घर पहिराले भत्किएको छ । घर भत्किएपनि मानवीय क्षति भने नभएको पोख्रेलले जानकारी दिनुभयो । “पहिराले घर भत्किएलगत्तै जनप्रतिनिधि, स्थानीयवासी लगायतको सहयोगमा परिवार र पशु चौपायाको उद्धार गरिएको छ,” पोख्रेलले भन्नुभयो ।

    सोही वडाको डुम्रे चिसापानीमा पनि तीन घर पहिराले पुरिएको छ । घर पूर्ण रुपमा क्षति भएपछि करीब ३५ जना विस्थापित भएको वडाध्यक्ष पोख्रेलले जानकारी दिनुभयो । पूर्ण रुपमा घर क्षति भएकाहरुलाई स्थानीय शिवशङ्कर अधिकारी र आमा समूहको भवनमा बस्ने व्यवस्था मिलाइएको छ । “पहिराका कारण सामान्य रुपमा घर क्षति हुनेको सङ्ख्या धेरै नै छ, सबै क्षतिको विवरण सङ्कलनको क्रममा छौ,” पोख्रेलले भन्नुभयो ।

    वर्षाकै कारण पृथ्वीराजमार्ग अन्तर्गत बन्दीपुर गाउँपालिका–१ नाहालमा पक्की सडक नै भत्किएपछि बाटो अवरुद्ध भएको छ । राजमार्गको १० मिटर भासिएर खाल्डो भएको पोख्रेलले जानकारी दिनुभयो ।

    पहिराकै कारण सोही वडाको महादेवस्थान देवेश्वर मन्दिर क्षेत्रमा पनि क्षति पुगेको छ । पोख्रेलका अनुसार बन्दीपुर जाने गुर्दुममा पनि पहिरा गएर बाटो अवरुद्ध भएको छ भने नाहाला उपल्ले फाँटमा पनि बाढीले क्षति पु¥याएको छ ।

    यसैगरी वर्षाले व्यास नगरपालिका–१ स्थित छाब्दी मार्ग जाने बाटो भासिएको छ । कदम खोलामा आएको बाढीले सडक भासिँदा १५ मिटर खाल्डो भएको व्यास नगरपालिका–१ का वडासदस्य चुडामणि दाहालले जानकारी दिनुभयो । सडक भासिएसँगै छाब्दीमार्ग पनि अवरुद्ध भएको छ ।

    यसैगरी पहिराका कारण जिल्लाका विभिन्न ठाउँमा पनि राजमार्ग अवरुद्ध भएको छ । म्याग्दे गाउँपालिकास्थित गुणादी, बन्दीपुर गाउँपालिकास्थित याम्पा, आँबुखैरेनी गाउँपालिकास्थित ऐनापहरामा पहिराका कारण सडक अवरुद्ध भएको छ । बाढी पहिराका कारण जिल्लाका अधिकांश ग्रामीण क्षेत्रका सडक पनि अवरुद्ध भएको छ ।