तनहुँ/३८ औं बिपी स्मृति दिवसको अवसरमा नेपाली काङ्ग्रेस तनहुँ व्यास नगर समितिले मङ्गलबार वृक्षारोपण गरेको छ । नगर समितिले व्यास नगरपालिका–५ पाटनस्थित खेलमैदान वरपर वृक्षारोपण गरेको हो ।
सो क्रममा आँप, बेल, अशोका, कपुर लगायतका २ सय २५ बिरुवा रोपिएको नगर समितिका सचिव मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । वृक्षारोपणका लागि डिभिजन वन कार्यालय तनहुँले २ सय र व्यास नगरपालिकाले २५ वटा बिरुवा उपलब्ध गराएको थियो । पाटन खेलमैदान निर्माण समितिका अध्यक्ष कृष्ण पुन लगायत पाटन युवा क्लवका सदस्यले बिरुवा रोपणका लागि खाल्डो खन्न सहयोग पु¥याउनुभएको थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले बिपी कोइरालाको मेलमिलाप नीतिलाई काङ्ग्रेसकै नेता तथा कार्यकर्ताले भुल्न थालेको चर्चा गर्नुभयो । नेता भण्डारीले भन्नुभयो, “बिपी कोइरालालाई जति मुखले सम्मान गर्छौ, व्यवहारमा त्यो देखिएको छैन, राष्ट्रिय मेलमिलापको नीति पार्टीकै नेता तथा कार्यकर्ताले बिर्सन थालेको आभाष भइरहेको छ ।” बिपीले सँधै आफूभन्दा माथि देश र जनतालाई राखेको स्मरण गराउँदै नेता भण्डारीले बिपीलाई सम्झनेहरुले त्यो कुरालाई सँधै अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो ।
काङ्ग्रेस जिल्ला सभापति एवं नगरप्रमुख बैकुण्ठ न्यौपानेले प्रजातान्त्रिक आन्दोलनमा बिपीले पु¥याएको योगदान सँधै अविष्मरणीय रुपमा रहिरहने बताउनुभयो । “बिपीको लोकतन्त्रप्रतिको निष्ठा सँधै अविचलित रहिरहन्छ, बिपीप्रतिको निष्ठा जोगाउन काङ्ग्रेसका कार्यकर्ता लाग्नुपर्छ,” उहाँले भन्नुभयो ।
काङ्ग्रेस व्यास नगर समितिका सभापति शान्तिरमण वाग्लेले कोरोना कहरका कारण बिपी स्मृति दिवसमा अन्य कार्यक्रम गर्न नसकिएपनि वृक्षारोपण कार्यक्रम भने गरिएको जानकारी दिनुभयो । बिपी स्मृति दिवसको अवसरमा नेपाली काङ्ग्रेसले मङ्गलबार जिल्लाका दश वटै पालिकामा वृक्षारोपण कार्यक्रम गरेको छ ।