पर्वत/बिश्वकै दोश्रो अग्लो बन्जी सञ्चालनको तयारीमा रहेको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसरमा निर्माण गरेको नेपालकै अग्लो र नमुना पिङ बुधबार (आज) बाट सञ्चालनमा आएको छ। बन्जीका लागि कालीगण्डकी नदिको खाेचमा निर्माण भएको पर्वतको कुश्मा र बाग्लुङको बलेवा जोड्ने पुलको उचाइ २ सय २८ मिटर छ भने सो भन्दा माथि बनाइएको पिङको उचाइ नदीबाट २ सय ४८ मिटर छ ।
जमिनबाट १२ मिटर अग्लो बनाइएको पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङ भन्दा फरक छ। यो गुलेलीको शैलीमा निर्माण गरिएको छ । सामान्यतया पिङमा अरुले हल्लाइदिनु पर्ने हुन्छ तर यसमा खेल्ने मान्छे पिङमा बसेपछि पछाडिबाट मेसिनले तानेर हुत्त छोडिन्छ अनि पिङ मचिन्छ। पिङ निर्माण र सञ्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइने द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले जानकारी दिनुभयाे।
चट्टान आरोहण लगायत साहसिक खेलमा प्रयोग हुने उच्च गुणस्तरको डोरिको प्रयोग गरिएको र दक्ष प्राविधिकबाट डिजाइन गरि निर्माण गरिएको पिङ नेपालकै नमुना पिङ बनेको कार्कीको दाबी छ। पिङ खेल्न प्रतिव्यक्ति रु दुई सय लाग्ने कार्कीले बताउनुभयाे। विश्वकै अग्लो स्विङ र स्काई साइक्लिङ समेत निर्माण गरेको कम्पनीले अन्य गतिविधि समेत छिट्टै खोल्ने बताइएको छ। क्षेत्रलाई एड्भेन्चर हबका रुपमा बिकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधि समेत थपिने कार्कीले बताउनुभयाे ।