तनहुँ/प्रहरीले एकैदिन बुधबार तीन जना फरार प्रतिवादी पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बहुविवाह र जारी मुद्धाका प्रतिवादी रहेका छन् । बहुविवाह मुद्दाका फरार प्रतिवादी सात वर्षपछि पक्राउ परेका हुन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–१२ बस्ने विनिता बोहोरा क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
जिल्ला अदालत तनहुँको विसं २०७० फागुन १९ गतेको फैसलाले क्षेत्रीलाई एक वर्ष कैदको फैसला सुनाएको थियो । निजले ११ महीना १४ दिन कैद भुक्तान गर्न बाँकी रहेको अवस्थामा निज फरार रहेको प्रहरीले जनाएको छ ।
फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत क्षेत्रीलाई आज निजकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । पक्राउ परेकालाई जिल्ला अदालत पेश गरिएकामा कैद भुक्तानीका लागि कास्की कारागार पठाइएको छ ।
प्रहरीले बुधबार नै जारी मुद्दाका फरार दुई व्यक्तिलाई सात वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा व्यास नगरपालिका–१ माइलीडाँडा बस्ने ३२ वर्षीय मनिष पन्त र निजका श्रीमती ३१ वर्षीय तुलसी थापा पन्त रहेका छन् । जिल्ला अदालतबाट निजद्वय विरुद्ध विसं २०७० वैशाख १५ गतेको फैसलाले एक महीना कैद र एक हजार जरीवानाको फैसला भएको थियो । पक्राउ परेका दुवै जनालाई कैद भुक्तानका लागि कारागार पठाइएको छ ।