तनहुँ/जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न अपराधमा संलग्न रही पाँच जना फरार प्रतिवादीलाई बिहीबार पक्राउ परेको छ । पक्राउ पर्नेमा काठ चोरीका तीन र जालसाजी मुद्दाका दुई जना रहेका छन् ।
प्रहरीले काठ चोरीका मुद्दाका तीन फरार प्रतिवादी पक्राउ १३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका–५ नागनगेनी बस्ने ४८ वर्षीय गोपालबहादुर भण्डारी, सोही ठाउँ बस्ने ६० वर्षीय पर्शुराम भण्डारी र ४८ वर्षीया सूर्यबहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज खत्रीले जानकारी दिनुभयो ।
निजहरुलाई जिल्ला अदालतको विसं २०६४ जेठ २८ गतेको फैसलाले जनही तीन महीना कैद सजाय तोकेको थियो । पक्राउ परेकाहरुलाई जिल्ला अदालत पेश गरिएकामा कैद भुक्तानका लागि कारागार चलान गरिएको छ । त्यसैगरी जालसाजी मुद्दाका फरार दुई प्रतिवादी सात वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–१० बस्ने ३६ वर्षीय दलबहादुर दरै र ६७ वर्षीय समबहादुर दरै रहेका छन् । निजहरुलाई जिल्ला अदालतबाट विसं २०७० फागुन २९ गतेको फैसलाले जनही रु ३२ हजार पाँच सय जरीवानाको फैसला सुनाएको थियो । पक्राउ परेकाहरुलाई पनि जिल्ला अदालत समक्ष गरिएको छ ।
विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा जिल्ला अदालतबाट फैसला भई दण्ड, जरीवाना, दसौदी, कोर्टफि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी कार्यलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ ।
असार तेस्रो सातादेखि मात्रै तनहुँमा १७ जना फरार प्रतिवादी पक्राउ परिसकेका छन् । सवारी ज्यान, ज्यान मार्ने उद्योग, बहुविवाह, लागुऔषध, अवैध काठ ओसारपसार लगायतका मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीले पछिल्लो समय बहुविवाह मुद्दाका फरार प्रतिवादीलाई सात वर्षपछि पक्राउ गरेको थियो । व्यास नगरपालिका–१२ बस्ने विनिता बोहोरा क्षेत्रीलाई जिल्ला अदालत तनहुँको विसं २०७० फागुन १९ गतेको फैसलाले एक वर्ष कैदको फैसला सुनाएको थियो । निजले ११ महीना १४ दिन कैद भुक्तान गर्न बाँकी रहेको अवस्थामा निज फरार रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै व्यास नगरपालिका–१ माइलीडाँडा बस्ने ३२ वर्षीय मनिष पन्त र निजका श्रीमती ३१ वर्षीय तुलसी थापालाई जारी मुद्दामा पक्राउ गरेको थियो । जिल्ला अदालतबाट निजद्वय विरुद्ध विसं २०७० वैशाख १५ गतेको फैसलाले एक महीना कैद र एक हजार जरीवानाको फैसला भएको थियो । पक्राउ परेका दुवै जनालाई कैद भुक्तानका लागि कारागार पठाइएको छ ।
त्यस्तै बहुविवाह मुद्दामा जिल्ला अदालतबाट सजाय पाएर फरार रहेका म्याग्दे गाउँपालिका–२ बस्ने ३६ वर्षीया शशी थापालाई १५ वर्षपछि, लागुऔषध मुद्दामा फरार आँबुखैरेनी गाउँपालिका–२ ढकालटार बस्ने २२ वर्षीय सन्तोष गुरुङलाई १४ वर्षपछि, चोरी उद्योग मुद्दामा म्याग्दे गाउँपालिका–४ बस्ने ४५ वर्षीय मनबहादुर आलेलाई एक वर्षपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।