तनहुँ/पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्डमा शनिबार दिनभर सवारीसाधन सञ्चालन बन्द गरिएको छ । बन्दीपुर गाउँपालिका–१ नाहालामा सडक भासिएपछि पटक–पटक अवरुद्ध हुँदै आएकामा मर्मत कार्य गर्नका लागि दिनभर यातायात सञ्चालन बन्द गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सडक भासिएको ठाउँ नजिकै वैकल्पिक मार्ग बनाएपनि हिलाम्य भएकाले सोही वैकल्पिक मार्गमा सवारी साधन फसेर सडक नै अवरुद्ध हुन थालेको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबार र शनिबार (आज) साना सवारी साधन मात्रै सञ्चालन गर्ने र ठूला मालवाहक गाडीलाई रोक लगाउने निर्णय गरेको भएपनि अत्यावश्यक बाहेकका सबै सवारी साधन सञ्चालन बन्द गरिएको ट्राफिक प्रहरी प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो । “एम्बुलेन्स र अत्यावश्यक सवारीसाधन बाहेक अरु सबै सवारी आज दिनभर सञ्चालन हुँदैनन्,” उहाँले भन्नुभयो । निरन्तर परेको वर्षाका कारण मङ्गलबार सडक नै भासिएपछि सवारी सञ्चालनमा कठिनाई हुँदै आएको छ ।