तनहुँ/नेपाली काङ्ग्रेसका पूर्व सहमहामन्त्री एवं पूर्वगृहमन्त्री गोविन्दराज जोशी निकट तनहुँका नेता तथा कार्यकर्ताले पार्टीले गरेको निर्णय फिर्ता नभए सामूहिक राजिनामा दिने चेतावनी दिएका छन् । नेपाली काङ्ग्रेस केन्द्रीय अनुशासन समितिले जोशीलाई कारवाही गरेपछि तनहुँमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जोशी निकट नेता तथा कार्यकर्ताले जोशीमाथिको कारवाही पूर्वाग्रही र अधिनायकवादी रहेको बताए ।
बिपी विचार समाज गण्डकी प्रदेशका सचिव परशुराम गिरीले जोशीलाई गरिएको कारवाहीले भविष्यमा काङ्ग्रेसलाई ठूलो क्षति पु¥याउने बताउनुभयो । “तनहुा जिल्लाको काङ्ग्रेस सङ्गठन बनाएको व्यक्तिलाई पार्टीबाटै निकाल्नु वरिष्ठ नेता रामचन्द्र पौडेलको स्वार्थ र पूर्वाग्रही भावना हो,” गिरीले भन्नुभयो, “पार्टी सङ्गठन ध्वस्त हुन्छ, यसको जिम्मा स्वयंम पौडेलले लिनुपर्छ ।”
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएपनि पौडेलको उजुरीका आधारमा जोशीको उम्मेदवारी खारेज भएको अवस्थामा तीन वर्षपछि आएर कारवाही गरिनु पूर्वाग्रही भावना रहेको उहाँको आरोप छ । “गल्ती गरेको भए त्यही बेला कारवाही हुनुपर्दथ्र्यो, उहाँ त चुनावमा उम्मेदवार नै बन्न पाउनुभएन,” गिरीले भन्नुभयो, “महाधिवेशनको मुखमा आएर महाधिवेशनमा भाग लिनबाट वञ्चित गराउने खेल खेलियो ।”
बिपी विचार समाजका जिल्ला अध्यक्ष डिल्लीराम अधिकारीले काङ्ग्रेस बनाउने नेता नै पार्टीमा नरहेपछि कार्यकर्ता पनि त्यो पार्टीमा बस्नुको औचित्य नहुने बताउनुभयो । “पार्टीमा अहिले रामचन्द्र पौडेलको हैकम चल्ला, तर सँधै त्यो अवस्था नरहन सक्छ, कुनै दिन पौडेलले पनि जोशीकै नियती भोग्नुपर्ने हुन सक्छ,” अधिकारीले भन्नुभयो ।
बिपी विचार समाजका नेतृ चिनु पोख्रेलले जोशीमाथिको गरिएको कारवाहीको घोर निन्दा गर्दै तत्काल उक्त निर्णय पार्टीले सच्याउनुपर्ने बताउनुभयो । जोशीमाथिको कारवाही फिर्ता नभएका जोशी निकट सबै कार्यकर्ताले सामूहिक राजिनामा दिने पोख्रेलले चेतावनी दिनुभयो । “काङ्ग्रेसले अहिले सबै वडामा क्रियाशील सदस्यता नवीकरणका लागि पठाएको छ, जोशीमाथिको कारवाही फिर्ता नभए हामी क्रियाशील सदस्यता नवीकरण गर्दैनौ, सामूहिक राजिनामा दिन्छौ,” उहाँले भन्नुभयो ।