जिल्ला समन्वयको जग्गा : कतै अतिक्रमित, कतै भाडामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जिल्ला समन्वयको जग्गा : कतै अतिक्रमित, कतै भाडामा

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ । जिल्ला समन्वय समिति तनहुँको स्वामित्वमा रहेका जग्गाहरु अतिक्रमणमा परेको छ । तत्कालिन जिल्ला विकास समिति हुँदादेखि नै समितिको स्वामित्वमा रहेका जग्गाहरु अतिक्रमणमा पर्दै गएको हो ।

    समितिको नाममा लालपूर्जा रहेको व्यास नगरपालिका–३–देउरालनगरस्थित २९ रोपनी जग्गा १ सय ८४ जना व्यक्तिले अनाधिकृत रुपबाट भोगचलन गर्दै आइरहेका छन् । ९ ट कि.नं ३४ को १५ रोपनी तीन आना एक पैसा तीन दाम र कि.नं ३५ को १४ रोपनी ६ आना एक दाम क्षेत्रफल जग्गा अनधिकृत रुपबाट भोगचलन भइरहेको समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिनुभयो ।

    व्यास नगरपालिका–२ स्थित ९ ग कि.नं. १३९६ को ५ रोपनी ३ आना २ पैसाको क्षेत्रफल जग्गा कृष्णबहादुर श्रेष्ठ, रमेश हमाल, मनमाया गुरुङ, रामकुमार श्रेष्ठ, हाजि सम्सुदिन मियाँ समेतले न्यूनतम भाडामा प्रयोग गरेको समन्वय समितिले जनाएको छ । यस्तै व्यास नगरपालिका–३ स्थित ९ ग कि.नं १६३७ को ४ रोपनी १४ आना तीन पैसा तीन दाम तनहुँ उद्योग वाणिज्य सङ्घ, नारी शिल्पकला भवन र भिमसेन गुठीले भोगचलन गर्दै आएका छन् ।

    व्यास नगरपालिका–२ स्थित ९ ग कि.नं १६३७ को ६ रोपनी १३ आना दुई पैसा तीन दामको जग्गा समन्वय समितिले दिपेश बस्नेतलाई भाडामा लगाएको छ । उक्त जग्गामा ट्रेड सेन्टर निर्माण गरिएको छ ।

    व्यास नगरपालिका–३ स्थित ९ ट कि.नं २९ को ८ आना जग्गा ब्रम्हाकुमारी राजयोग संस्थाले भोगचलन गरेको छ । व्यास नगरपालिका–३ स्थित ९ ग कि.नं १८६२ को १ रोपनी ८ आना जग्गा समन्वय समितिले फलफूल पसललाई भाडामा लगाएको छ ।

    व्यास नगरपालिका–२ स्थित ९ ग कि.नं ७९२ को १ आना एक दाम जग्गा रामचन्द्र पौडेललाई, ९ ग कि.नं १७० को १४ आना तीन पैसा एक दाम जग्गा विभिन्न पसललाई भाडामा लगाइएको छ ।

    समन्वय समितिको स्वामित्वमा खेलकुद मैदान, जिल्ला समन्वय समिति क्वाटर, अतिथिगृह, सभागृह, बिपी वनवाटिकाको चौर जिल्ला समन्वय समितिको अगाडीको चौर समेत गरी ५३ रोपनी १४ आना तीन पैसा दुई दाम जग्गा छ । त्यस्तै पशुसेवा कार्यालयदेखि उत्तर दूधडेरीभन्दा पूर्व तर्फ ७ आना दुई पैसा एक दाम, जिल्ला प्रहरी कार्यालयबाट पशुसेवा कार्यालय जाने बाटोको पश्चिम तथा नेपाली काङ्ग्रेसको पार्टी कार्यालयबाट पश्चिमतर्फ ९ आना तीन पैसा तीन दाम जग्गा समन्वय समितिको स्वामित्वमा छ । जिल्ला प्रहरी कार्यालयबाट पशु सेवा कार्यालय आउने बाटोको पश्चिमतर्फको भतेरी तथा भतेरीका कान्लामा कि.नं २१५ मा एक रोपनी ९ आना दुई पैसा दुई दाम, कि.नं २०० मा एक रोपनी १० आना दुई पैसा दुई दाम, कि.नं २०६ मा २४ रोपनी छ आना, कि.नं १९७ मा ११ आना एक पैसा एक दाम, कि.नं २०८ मा ५ आना तीन दाम र कि.नं २०९ मा ८ रोपनी १२ आना तीन पैसा जग्गा रहेको समन्वय समितिले जनाएको छ ।

    विसं २०७५ असार १९ गते पुष्पलाल श्रेष्ठको संयोजकत्वमा गठित एक कार्यदलले समन्वय समितिको स्वामित्वमा रहेको जग्गाको खोजी गरेको थियो ।