घरमै बकर इद मनाउँदै मुस्लिम समुदाय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    घरमै बकर इद मनाउँदै मुस्लिम समुदाय

    खबरपुञ्ज संवाददाता

    १७ श्रावण २०७७, शनिबार

    तनहुँ । बन्दाबन्दी अन्त्य भएपनि कोरोना भाइरसको जोखिम कायम रहेकाले बकर इदको अवसरमा घरमै नमाज पढ्न आग्रह गरिएको छ । सामान्य अवस्थामा मस्जिदमा भेला भएर नमाज पढ्ने गरिएपनि अहिले भीडभाड गर्ने समय नभएकाले दमौलीस्थित मुस्लिम अन्जुमन कमिटीले घरमै बसेर नमाज पढ्न आग्रह गरेको हो ।

    सरकारको निर्णय बमोजिम चार महीनादेखि नुरी हन्फी जामे मस्जिद बन्द रहेको कमिटीका सचिव मन्सुर अहमदले जानकारी दिनुभयो । “सरकारले भीडभाड नगर्न निर्देशन गरेकाले सोही बमोजिम मस्जिदमा बकर इद पढ्ने व्यवस्था मिलाउन सकिएन,” उहाँले भन्नुभयो, “घर घरमै नमाज पढ्न सबैलाई आग्रह गरेका छौ ।” बकर इदको अवसरमा मस्जिदमा धर्मगुरु सहित छ जनाले मात्रै नमाज पढ्नेछन् ।

    मस्जिदमा दैनिक पाँच पटक नमाज पढ्ने गरिन्थ्यो । अन्य दिनमा दैनिक २०–२५ जनाले मात्रै मस्जिदमा गएर नमाज पढ्ने गर्दथे भने हरेक शुक्रबार ७ सय भन्दा बढीले मस्जिदमा नमाज पढ्ने गर्दथे ।

    मुस्लिम आयोगले पनि घरमै बसेर नमाज पढी इल उज अज्हा (इद) पर्व मनाउन आग्रह गरेको छ । बन्दाबन्दी खुल्ला गरिएको भएतापनि सबै प्रकारका धार्मिक तथा सम्मेलन गर्न नपाइने निर्णय कायमै रहेकाले बकर इद घरमा बसी मनाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

    बकर इद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरुपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् ।

    धार्मिक मान्यताअनुसार अल्लाका नवी(दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेशलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग(जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यतालाई अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको पाइएको छ ।

    साङ्केतिक तस्वीर