राजनीतिक दल कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो – मन्त्री गुरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राजनीतिक दल कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो – मन्त्री गुरुङ

    खबरपुञ्ज संवाददाता

    १८ श्रावण २०७७, आईतवार

    तनहुँ । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले राजनीतिक दल कमजोर हुँदा लाेकतन्त्र कमजाेर हुने बताउनुभएकाे छ । तनहुँकाे भीमाद नगरपालिकाकाे आर्थिक वर्ष ०७७/७८ को सातौ नगरसभाबाट स्वीकृत वार्षिक नीति तथा कार्यक्रम र बजेटको आइतबार सार्वजनिक गर्नुहुँदै मन्त्री गुरुङले विगतको इतिहासमा नेपाली काङ्ग्रेस आपसी विवादका कारण कमजोर हुँदा लोकतन्त्र कमजोर बनेको बताउँदै अहिले पनि नेपाल कम्युनिष्ट ( पार्टी नेकपा ) भित्रको आन्तरिक विवादका कारण नेकपा कमजोर बनेको तर्क गर्नुभयाे ।

    गुरुङले सत्तासिन नेकपा कमजोर हुनु भनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र कमजोर हुनु हो भन्नुभयाे । मन्त्री गुरुङले नेकपाभित्र देखिएको समस्याले छिटो निकास प्राप्त गर्ने समेत दावी गर्नुभयाे । मन्त्री गुरुङले भन्नुभयाे, “नेकपा अझै एकताबद्ध भएर अगाडी बढ्दा लाेकतन्त्र पनि बलियाे हुन्छ ।”

    मन्त्री गुरुङले स्रोतको सुनिश्चित नगरी नीति, कार्यक्रम तथा बजेट ल्याइए कार्यान्वयनमा समस्या आउने बताउनुभयाे । कार्यक्रम सञ्चालनका लागि कति बजेट चाहिन्छ र त्यसको स्रोत कहाँबाट आउँछ त्यसको निक्र्यौल गर्न आवश्यक रहेको मन्त्री गुरुङको भनाई थियो । “हचुवाका भरमा नीति तथा कार्यक्रम बनाइयो भने त्यसलाई कार्यान्वयन गर्न सकिदैन, स्रोतको पहिचान पहिल्यै गर्नुपर्छ,” मन्त्री गुरुङले भन्नुभयो । नीति कार्यक्रम बनाउनु भन्दा आयस्रोत जुटाउने कुरा महत्वपूर्ण रहेकाले स्थानीय तहले त्यसतर्फ विशेष ध्यानदिनुपर्ने मन्त्री गुरुङले बताउनुभयो ।

    जनताका बीचमा गरिएका प्रतिबद्धतालाई ध्यानमा राखेर जनप्रतिनिधिले नीति तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिँदै मन्त्री गुरुङले योजनाबद्ध ढङ्गबाट बनाइएको कार्यक्रमले मात्रै सफलता प्राप्त गर्ने टिप्पणी गर्नुभयो ।

    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य पिएल श्रेष्ठ, नेपाली काङ्गेसका जिल्ला कार्यवाहक सभापति जितप्रकाश आले, नेकपाका जिल्ला सचिव राजेन्द्रकेशरी न्याैपाने लगायतले मन्तव्य राख्नुभएकाे थियाे ।

    कार्यक्रममा भीमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले नगरसभाबाट पारित रु ५६ करोड ५३ लाख ७ हजार ७ सय २० को बजेट तथा कार्यक्रम सार्वजनिक गर्नुभयो । नगरपालिकाले आर्थिक विकास क्षेत्रतर्फ कृषिमा रु एक करोड २४ लाख, पशुपंक्षीमा रु ९२ लाख ६० हजार, जलस्रोत तथा सिंचाइमा रु ८७ लाख, वनमा रु एक लाख, पर्यटनमा रु ६० लाख र उद्योगमा रु ६ लाख बजेट विनियोजन गरेको छ ।

    भिडियाे हेर्नुहाेस् –