तनहुँ । विभिन्न मुद्दामा जिल्ला अदालत तनहुँबाट सजाय पाएका तीन फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले भवितव्य ज्यान मुद्दाका फरार दुई प्रतिवादीलाई पाँच र जारी मुद्दाका एक फरार प्रतिवादीलाई ९ वर्षपछि आइतबार पक्राउ गरेको हो ।
भवितव्य ज्यान मुद्दामा फरार रहेका म्याग्दे गाउँपालिका–३ ठूलाचौर बस्ने ३१ वर्षीय सूर्य सुनार र व्यास नगरपालिका–१० डिहीगाउँ बस्ने ३० वर्षीय रविन मगरलाई निजहरुको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
जिल्ला अदालतको विसं २०७२ भदौ २३ गतेको फैसलाले निजहरु विरुद्ध जनही एक वर्ष कैद र रु तीन सय जरीवानाको फैसला गरेको थियो । निजहरुले गरेको पुनरावेदनले उक्त फैसला उपर जनही ६ महीना कैद र रु तीन सय जरीवाना तोकिएको थियो । कैद तथा जरीवाना भुक्तान गर्न बाँकी रहेका दुई जनालाई अदालत पेश गरिएकामा कैद भुक्तानका लागि कारागार कार्यालय तनहुँ चलान गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी जारी मुद्दामा फरार रहेका शुक्लागण्डकी नगरपालिका–७ बस्ने नविनलाल श्रेष्ठलाई निजकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । श्रेष्ठ विरुद्ध जिल्ला अदालतको विसं २०६८ वैशाख २१ गतेको फैसलाले एक महीना कैद र रु एक हजार जरीवानाको फैसला गरेको थियो । श्रेष्ठलाई पनि कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।
विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरीवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजीकार्यलाई प्रहरीले तीव्र पारेको छ ।