गाईमा देखियो नयाँ भाइरस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    गाईमा देखियो नयाँ भाइरस

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०७७, बुधबार

    तनहुँ । तनहुँ जिल्लाका गाईमा नयाँ भाइरसको सङ्क्रमण देखिएको छ । व्यास नगरपालिका–११ फराकचौरका एक कृषकले पालेकाे गाईमा लम्पी स्किन डिजिज भाइरस देखा परेको हो ।

    नेपालको पूर्वी जिल्लामा व्यापक रुपमा देखा परेको यो भाइरसको सङ्क्रमण तनहुँमा पनि देखा परेको भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । “पक्स समूहको काप्रीपक्स भाइरसबाट देखिने यो रोग तनहुँमा पनि फेला परेको छ,” डा. श्रेष्ठले भन्नुभयो, “नमूना सङ्कलन गरेर ल्याएका छौ, परीक्षणपछि थप पत्ता लाग्छ, तर सामान्य रुपमा हेर्दा यो लम्पी स्किन डिजिज नै हो ।”

    जिल्लाका अन्य ठाउँमा पनि यो रोग देखा परे खबर गर्न सम्बन्धित स्थानीय तहको पशु शाखा मार्फत् आग्रह गरिएको छ । “जिल्लाका अन्य ठाउँबाट यो रोगको बारेमा कृषकले हालसम्म जानकारी नगराएपनि यो रोग नफैलिएला भन्न सकिन्न,” श्रेष्ठले भन्नुभयो ।

    डा. श्रेष्ठका अनुसार पहिला अफ्रिकामा सीमित यो रोग सन् २०१२ पछि मध्यपूर्व, दक्षिण पूर्वी युरोप, रसिया, कजाकिस्तान हुँदै बङ्गलादेश र भारतमा पनि केही महनिा अगाडी देखा परेको थियो । अहिले नेपालको मोरङ, झापा लगायत पूर्वी क्षेत्रमा यसैसँग मिल्दोजुल्दो लक्षण देखाई सयौ गाईहरु बिरामी परेको र केही मरेको जानकारी प्राप्त भएको डा. श्रेष्ठले जानकारी दिनुभयो ।

    यो भाइरस लागिसकेपछि कचेरा निकाल्ने, सिङ्गान बग्ने तथा फिज धेरै निकाल्ने हुन्छ । शरीरका विभिन्न ठाउँमा विशेषगरी घाँटी, पछाडीको भाग, पेट र थुन वरिपरि १० देखि ५० मिलिमिटरसम्मका गिर्खाहरु देखिने गरेको डा. श्रेष्ठले बताउनुभयो । “यो रोग लागिसकेपछि गाईलाई उच्च ज्वरो आउने र दूध उत्पादन ८० प्रतिशतसम्म घट्न सक्छ,” डा. श्रेष्ठले भन्नुभयो, “साथै गर्भ तुहिन सक्ने र पछि महिनौ बाँझोपना देखिन पनि सक्छ ।”

    डा. श्रेष्ठका अनुसार यो रोग लामखुट्टे, किर्ना आदिको टोकाइको माध्यमबाट र सङ्क्रमित पशु र स्वस्थ पशुलाई उपचारका क्रममा एउटै सुई प्रयोग गर्दा सर्छ । “यस रोगको ठोस उपचार नभएको र खोप नेपालमा उपलब्ध नभएकाले पशु चिकित्सकको सल्लाहमा लक्षण अनुसारको उपचार गर्न सकिन्छ,” श्रेष्ठले भन्नुभयो ।

    डा. श्रेष्ठका अनुसार यो रोगबाट गाईलाई बचाउनका लागि लामखुट्टे, झिङ्गा, किर्ना आदिको सङ्ख्या नियन्त्रण र गोठ वरिपरिको वातावरण सफा राख्नुपर्छ ।