तनहुँ । तनहुँको व्यास नगरपालिका–३ पराशर टोलका स्थानीयवासीले खानेपानीको समान वितरण र दीर्घकालिन समाधान गर्न माग गरेका छन् । बुधबार दमौली खानेपानी उपभोक्ता समितिलाई ज्ञापनपत्र बुझाउँदै स्थानीयवासीले उक्त वडामा तुलनात्मक रुपमा कम र पराशर टोलका केही स्थानमा कत्ति पनि पानी नआएकाले समान रुपमा खानेपानीको वितरण गर्ने व्यवस्था मिलाउन माग गरेका हुन् ।
हाल वितरण भइरहेको पाइप लाइनबाट पानी आपूर्तिमा कमी आएको र मादी नदी धमिलो भएको अवस्थामा असार र साउन महिनामा मोटर बिग्रने कारण आपूर्ति नियमित हुन नसकेको व्यास नगरपालिका–३ का वडासदस्य रविन पौडेलले बताउनुभयो । यस क्षेत्रमा विगतको समस्या कायमै रहेको हुँदा यसको दीर्घकालिन उपायबारे अध्ययन गरी शीघ्र कार्यान्वयनमा लाग्न समितिलाई आग्रह गरिएको पौडेलले बताउनुभयो ।
समितिलाई बुझााइएको ज्ञापनपत्रमा हालको पानी वितरण प्रणालीको डिजाइन र जमिनमुनी बिछ्याइएको पाइप डिजाइन अनुरुप भए नभएको एकिन गरी सो अनुरुप नभए पाइप लाइन परिवर्तन गर्न माग गरिएको छ । त्यस्तै मुख्य वितरण प्रणालीबाट बजार क्षेत्रमा राखिएको मुख्य पाइप भएका स्थान पहिचान गर्न र यसको अध्ययन गरी नयाँ पाइप लाइन थप गर्ने तथा समान वितरण प्रणाली कायम राख्न गेटवलको प्रयोग गर्न माग गरिएको छ ।
डिजाइनमा देखाइएको कनेक्शन वास्तविक रुपमा नभएको हो की भनी उपभोक्ता आशङ्कित भएकाले शङ्का लागेका स्थानमा खोलेर हेर्न आग्रह गरिएको छ ।