तनहुँ । सरकारले बिहीबारदेखि सवारी साधनमा जाेर विजाेर लागु गरेकाे छ । काेराेना सङ्क्रमितकाे सङ्ख्या दिनदिनै बढ्न थालेपछि गृहमन्त्रालयले बुधबार साँझ विज्ञप्ती निकालेर सबै सवारी साधनमा जाेर विजाेर लागु भएकाे जानकारी गराएकाे छ ।
काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा र उपत्यकाबाहिर २०० जना भन्दा बढी सक्रिय कोरोना सङ्क्रमित रहेको जिल्लाका सवारी साधन जोर विजोर प्रणाली लागू हुने मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयाे । सरकारले बिहीबार देखि नै राति ९ बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा पनि रोक लगाएको छ ।
के तनहुँमा पनि लागु हुन्छ याे नियम ?
सरकारले लागु गरेकाे जाेर विजाेरकाे नियम तनहुँ जिल्लामा भने लागु हुँदैन । २०० भन्दा बढी सक्रिय काेराेना सङ्क्रमित रहेकाे जिल्लामा मात्रै याे नियम लागु हुने निर्णय भएकाले तनहुँमा जाेर विजाेर लागु नहुने भएकाे हाे ।
तनहुँमा १ सय ८३ लाई काेराेना पुष्टि भएकामा बुधबारसम्म १ सय ७२ जना निकाे भएर घर गएका छन् ।
तस्वीर : सामाजिक सन्जाल