तनहुँ । विभिन्न अपराधमा संलग्न रही अदालतबाट दोषी ठहरिएका दुई फरार प्रतिवादी पक्राउ गरेका छन् । लागुऔषध र चोरी मुद्दाका फरार प्रतिवादी चार वर्षपछि पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा लागुऔषध मुद्दाका व्यास नगरपालिका–५ बस्ने २३ वर्षीय कुशल थापा र चोरी मुद्दाका म्याग्दे गाउँपालिका–१ बस्ने २२ वर्षीय विशाल माझी भन्ने विनोद बोटे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
लागुऔषध मुद्दामा थापालाई जिल्ला अदालत तनहुँले विसं २०७३ पुस ५ गते ५ महिना २७ दिन कैदको फैसला सुनाएको थियो । पक्राउ परेका थापालाई आइतबार जिल्ला अदालत पेश गरिएकामा अदालतको आदेश बमोजिम कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।
यस्तै चोरी मुद्दामा बोटेलाई जिल्ला अदालतले विसं २०७३ मङ्सिर २१ गते २४ दिन कैद र रु ८ हजार ९ सय २५ जरीवानाको फैसला सुनाएको थियो । पक्राउ परेका बोटेलाई पनि आइतबार नै कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी कार्यलाई प्रहरीले तीव्रता दिएको छ ।