व्यासकी कोरोना सङ्क्रमित वृद्धाको सम्पर्कमा आएका तीन स्वास्थ्यकर्मीको स्वाब सङ्कलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • फिचर

    व्यासकी कोरोना सङ्क्रमित वृद्धाको सम्पर्कमा आएका तीन स्वास्थ्यकर्मीको स्वाब सङ्कलन

    खबरपुञ्ज संवाददाता

    ३० श्रावण २०७७, शनिबार

    तनहुँ । तनहुँको व्यास नगरपालिका–१ की ६९ वर्षीया कोरोना सङ्क्रमित वृद्धाको सम्पर्कमा आएका एपोलो अस्पतालका तीन स्वास्थ्यकर्मीको शनिबार स्वाब सङ्कलन गरिएको छ । पित्तथैलीको अप्रेशनका लागि पोखरा जानु अगाडी दमौलीस्थित उक्त अस्पतालमा ती वृद्धाले उपचार गराएको खुलेपछि शनिबार एक चिकित्सक र दुई स्वास्थ्यकर्मीको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको हो ।

    ती वृद्धाको पोखरामा साउन २७ गते स्वाब सङ्कलन गरेर परीक्षण गर्दा शुक्रबार कोरोना पुष्टि भएको थियो । हाल उहाँ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा उपचाररत हुनुहुन्छ ।
    यसैबीच एपोलो अस्पतालका सञ्चालक चुडामणि दाहालले ती वृद्धाको परीक्षणमा खटिएका स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको र अस्पताललाई पूर्ण निसङ्क्रमण गरिएको जानकारी दिनुभयो ।

    “सङ्क्रमित भनिएको महिलाको यस हस्पिटलमा परीक्षण गरिएको पाँच दिन भइसकेको र सिसिटिभी फुटेजबाट हेर्दा बिरामी र बिरामीको आफन्तले शुरुदेखि अन्तिमसम्म मास्क प्रयोग गर्नुभएको छ,” उहाँले भन्नुभयो, “डाक्टरहरुले पनि मास्क, पन्जा प्रयोग गरेर सावधानी अपनाएर नै स्वास्थ्य परीक्षण गर्नुभएको छ ।” अस्पताल पूर्ण रुपमा सुरक्षित रहेकाले अस्पतालमा परीक्षण गरेका बिरामीहरुलाई नआत्तिन दाहालले आग्रह गर्नुभयो ।

    व्यास नगरपालिकाले शनिबार दमाैलीकाे तीन ठाउँमा १ सय २ जनाकाे स्वाब सङ्कलन गर्ने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमाेद साेतीले जानकारी दिनुभयाे ।