दमौली अस्पताल स्तरोन्नतिका लागि प्रदेश सरकारसँग जग्गा माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली अस्पताल स्तरोन्नतिका लागि प्रदेश सरकारसँग जग्गा माग

    खबरपुञ्ज संवाददाता

    ३१ श्रावण २०७७, आईतवार

    तनहुँ । तनहुँको सदरमुकामस्थित दमौली अस्पतालको स्तरोन्नतिका लागि आवश्यक पर्ने जग्गा गण्डकी प्रदेश सरकारसँग माग गरिएको छ । अस्पतालका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराइदिन जिल्ला सभाले निर्णय गरेपछि बसेको सर्वपक्षीय बैठकले कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको केही रोपनी जग्गा दमौली अस्पताललाई उपलब्ध गराइदिन प्रदेश सरकारसँग माग गरिएको हो ।

    जिल्ला सभाले दमौली अस्पतालसँगै जोडिएका कृषि ज्ञान केन्द्रको स्वामित्वको जग्गामध्येबाट पाँच रोपनी र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्वामित्वको जग्गामध्येबाट आठ रोपनी जग्गा अस्पताललाई उपलब्ध गराइदिन निर्णय गरेको थियो । उक्त जग्गाको स्वामित्व प्रदेश सरकार मातहत रहेकाले जग्गा माग गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष डेलिगेशन जाने निर्णय भएको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले दिनुभयो ।

    “दमौली अस्पतालको स्तरोन्नतिका लागि जिल्लाका सबै सरोकारवाला एकमत छन्, अस्पतालको स्तरोन्नतिका लागि कृषि र पशुको जग्गा आवश्यकता हो,” अधिकारीले भन्नुभयो, “त्यो जग्गा अस्पताललाई दिनपर्छ भनेर दबाब सिर्जना गर्न मुख्यमन्त्रीसँग भेट्न जाने निर्णय भएको छ ।”
    जिल्ला सभाले जिल्ला समन्वय समितिको स्वामित्व भएको दमौली पार्कभन्दा उत्तर र दक्षिणतर्फका जग्गाहरु अस्पतालको स्तरोन्नतिका लागि उपलब्ध गराउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको थियो । जिल्ला सभाले गरेको निर्णयका जग्गाहरुमा अस्पतालको स्तरोन्नतिका लागि डिपिआर बनाउने तयारी गरिएको छ । अस्पतालको स्तरोन्नतिका लागि डिपिआर तयार गर्न गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु ३५ लाख बजेट विनियोजन गरेको थियो ।

    शनिबार भएको सर्वपक्षीय बैठकमा तनहुँ क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य केदार सिग्देल, गण्डकी प्रदेशका सांसद डोवाटे विक, सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता श्रीप्रसाद श्रेष्ठ, नेपाली काङ्ग्रेसका जिल्ला सचिव विश्व बास्तोला, पूर्व मेयर ताराप्रसाद श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र, व्यास नगरपालिका–३ का वडा सदस्य रविन पौडेल लगायतले हालकै स्थानमा दमौली अस्पतालको स्तरोन्नति गर्नुपर्नेमा जोड दिनुभएको थियो ।