श्वासप्रश्वासमा समस्या देखिएकी बन्दीपुरकी महिलाको पोखरामा मृत्यु, कोरोना परीक्षण हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    श्वासप्रश्वासमा समस्या देखिएकी बन्दीपुरकी महिलाको पोखरामा मृत्यु, कोरोना परीक्षण हुँदै

    खबरपुञ्ज संवाददाता

    १ भाद्र २०७७, मंगलवार

    तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–६ निवासी २९ वर्षीया एक युवतीको मङ्गलबार पोखरामा मृत्यु भएको छ । ग्यालेक्सी अस्पताल पोखरा पुगेको आधा घण्टामै ती युवतीको मृत्यु भएको हो ।

    साउन २० गते बन्दीपुर अस्पतालमा उपचारका लागि उनी भर्ना भएकी थिइन् । तर स्वास्थ्यमा थप समस्या भएपछि उनी साउन २४ मा भरतपुरको मनकामना अस्पतालमा उपचारका लागि पुगेकी थिइन् । साउन २९ मा मनकामना हस्पिटलबाट उनी डिस्चार्ज भएकी थिइन् । तर स्वास्थ्यमा पुनः समस्या देखिएपछि उनी मंगलबार बिहान डुम्रेस्थित मोती मेडिकल हलमा जाँचका लागि  पुगेकी थिइन् ।

    मेडिकलका सञ्चालक समेत रहेका बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले एम्बुलेन्सको व्यवस्था गरेर बिरामीलाई पोखराको ग्यालेक्सी हस्पिटलमा रिफर गर्नुभएको थियो ।

    ‘उनी बन्दीपुर गाउँपालिका वडा नम्बर ६ मा बस्दै आएकी थिइन् । उनी मेरो मेडिकलमा आउँदा अक्सिजन कम भइसकेको थियो,’ थापाले भन्नुभयो, ‘डाक्टरसँग सम्पर्क गरेर पठाएको केही घन्टामै मृत्युको खबर आयो ।’

    ती युवतीमा कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण रहेकाले क्षयरोग उपचार केन्द्रमा नमूना परीक्षणका लागि पठाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त नतिजा आज बेलुका ८बजेसम्म आउनेछ ।