तनहुँ : जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्लागण्डकी नगरपालिकाका ८ वडा, भीमाद नगरपालिका र देवघाट गाउँपालिकाको एक वडामा निषेधाज्ञा जारी गरेको छ । कोभिड–१९ को सङ्क्रमण समुदायमा फैलन सक्ने परिस्थिति सिर्जना भएकाले सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले शुक्लागण्डकी नगरपालिकाको वडा नं २ देखि ९ का सम्पूर्ण क्षेत्र, भीमाद नगरपालिकाको सम्पूर्ण क्षेत्र र देवघाट गाउँपालिका–५ मा आज राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम ती स्थानहरुमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो । उक्त निर्णय कार्यान्वयन नगरेमा सङ्क्रामक रोग ऐन, २०२० को दफा ३ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कारवाही गरिने प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।
निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा बाहेकका नियमित सेवा, बैङ्क तथा वित्तीय संस्थाबाट प्रदान गरिने बाह्य सेवा, सामाजिक सङ्घसंस्थाले सञ्चालन गर्ने कोभिड नियन्त्रण एवं स्वास्थ्य सुरक्षा बाहेक अन्य कार्य र उद्योग, कलकारखाना र अन्य व्यवस्थापन बन्द रहनेछन् ।
निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा, स्वास्थ्य सेवा, सरसफाई सेवा र विपद् व्यवस्थापन सेवासँग सम्बन्धित कार्यहरु भने सञ्चालन गर्न पाइनेछ । त्यस्तै राष्ट्रिय राजमार्गमा सञ्चालन हुने सवारी साधन, सरकारी कार्यालय र सार्वजनिक निकायका नियमित कार्य, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई, भौतिक दूरी कायम गरी सञ्चालन गर्ने औषधि र औषधिजन्य पसल, खाद्य सामग्री पसल, फलफूल, तरकारी र दुग्धजन्य पसल, एम्बुलेन्स, शववाहन, खाद्य ढुवानी, औषधि, फलफूल, कुखुराको चल्ला, मासु, तरकारी, दुग्ध पदार्थ, पानी र इन्धन बोकेका सवारी साधन, कुटनीतिक नियोग र झण्डावाला सवारी साधन, सरकारी नम्बर प्लेटका र जिल्ला प्रशासन कार्यालयबाट सवारी पास प्राप्त सवारी साधनहरु सञ्चालन हुनेछन ।
तनहुँको भानु नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिकाका समुदाय स्तरका व्यक्तिमा कोरोना पुष्टि भएको छ । भानु नगरपालिकामा २४, व्यास नगरपालिकामा ७, शुक्लागण्डकी नगरपालिकामा एक, देवघाट गाउँपालिकामा तीन, बन्दीपुर गाउँपालिकामा एक जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएको छ ।