म्याग्दे गाउँपालिकामा आज रातिदेखि निषेधाज्ञा जारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्दे गाउँपालिकामा आज रातिदेखि निषेधाज्ञा जारी

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : जिल्ला प्रशासन कार्यालय तनहुँले म्याग्दे गाउँपालिकामा शुक्रबार राति १२ बजेदेखि भदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । कोभिड–१९ को सङ्क्रमण समुदायमा फैलन सक्ने परिस्थिति सिर्जना भएकाले जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले म्याग्दे गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

    स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम म्याग्दे गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो ।

    निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा बाहेकका नियमित सेवा, बैङ्क तथा वित्तीय संस्थाबाट प्रदान गरिने बाह्य सेवा, सामाजिक सङ्घसंस्थाले सञ्चालन गर्ने कोभिड नियन्त्रण एवं स्वास्थ्य सुरक्षा बाहेक अन्य कार्य र उद्योग, कलकारखाना र अन्य व्यवस्थापन बन्द रहनेछन् ।

    निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा, स्वास्थ्य सेवा, सरसफाई सेवा र विपद् व्यवस्थापन सेवासँग सम्बन्धित कार्यहरु भने सञ्चालन गर्न पाइनेछ । त्यस्तै राष्ट्रिय राजमार्गमा सञ्चालन हुने सवारी साधन, सरकारी कार्यालय र सार्वजनिक निकायका नियमित कार्य, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई, भौतिक दूरी कायम गरी सञ्चालन गर्ने औषधि र औषधिजन्य पसल, खाद्य सामग्री पसल, फलफूल, तरकारी र दुग्धजन्य पसल, एम्बुलेन्स, शववाहन, खाद्य ढुवानी, औषधि, फलफूल, कुखुराको चल्ला, मासु, तरकारी, दुग्ध पदार्थ, पानी र इन्धन बोकेका सवारी साधन, कुटनीतिक नियोग र झण्डावाला सवारी साधन, सरकारी नम्बर प्लेटका र जिल्ला प्रशासन कार्यालयबाट सवारी पास प्राप्त सवारी साधनहरु सञ्चालन हुनेछन ।

    निषेधाज्ञा अवज्ञा गरे सङ्क्रामक रोग ऐन, २०२० को दफा ३ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कारवाही गरिने प्रशासन कार्यालयले जनाएको छ ।

    यसअघि प्रशासनले व्यास नगरपालिका, भानु नगरपालिका, भीमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका वडा नं २ देखि ९ र देवघाट गाउँपालिका वडा नं ५ मा निषेधाज्ञा जारी गरेको छ । आँबुखैरेनी गाउँपालिका र घिरिङ गाउँपालिकाले भने एक हप्ता अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ ।