स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सवारी चालकलाई उचित व्यवहार नगरे कारवाही
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सवारी चालकलाई उचित व्यवहार नगरे कारवाही

    खबरपुञ्ज संवाददाता

    ५ भाद्र २०७७, शुक्रबार

    तनहुँ : कोभिड–१९ को महामारीका बीचमा पनि सेवामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सवारी चालकलाई उचित व्यवहार नभए कारवाही गर्ने चेतावनी जिल्ला प्रशासन कार्यालय तनहुँले दिएको छ । आइसोलेशन र क्वारेन्टिनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सवारी चालकलाई स्वास्थ्य र सुरक्षाका मापदण्डले पूर्ण पालना गरी आफ्नो घर, डेरा र समुदायमा फर्कदा कही कतै उचित व्यवहार नभएको गुनासो आएकाले त्यस्तो नगर्न प्रशासनले शुक्रबार प्रेस विज्ञप्ती सार्वजनिक गरी सबैलाई सचेत गराएको हो ।

    कोभिड–१९ बाट सङ्क्रमित व्यक्तिहरुलाई आइसोलेशनमा राखी उचित रेखदेख र उपचार गर्न एवं घर वा क्वारेन्टिनबाट आइसोलेशनसम्म लैजान स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सवारी चालकहरु खटिई सेवा दिइरहेको सबैलाई अवगत रहेको भन्दै प्रशासनले भनेको छ, “जोखिमका बीचमा पनि सेवामा खटिनेहरुलाई उचित व्यवहार गरी उनीहरुको मनोबल बढाउन अनुरोध गरिन्छ ।”

    सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र चालकलाई उचित व्यवहार नगरेको पाइए सङ्क्रामक रोग ऐन, २०२० को दफा ३ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ र अन्य प्रचलित कानून बमोजिम कारवाही गरिने जानकारी दिनुभयो ।