पाेखरा : पोखरा महानगरपालिका ३ भदौदेखि जारी निषेधाज्ञा अझै थप्नुपर्ने निष्कर्षमा पुगेको छ । महानगरको कोरोना संक्रमण रोकथाम मूल समितिको आइतबार बिहान बसेको बैठकले संक्रमित बढिरहेकाले १२ भदौसम्म बन्दाबन्दीलाई निरन्तरता दिनु उचित हुने निष्कर्ष निकालेको हो ।
बैठकले गरेको निर्णय आइतबार नै जिल्ला संकट व्यवस्थापन केन्द्रमा सिफारिस गरिने समितिका एक सदस्यले जानकारी दिनुभयाे । निषेधाज्ञा जारी भएपछि जिल्लाभर हिँड्डुलमा कडाइ गरिएको छ । खाद्यान्न, तरकारी, फलफूल र औषधि पसलबाहेक अरु सबै पसल बन्द छन् । स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी भने गुडिरहेका छन् ।
प्रशासन पनि पालिका र विज्ञको सुझावअनुसार निषेधाज्ञाबारे निर्णय गर्ने मनस्थितिमा छ । समुदायमा कोरोना संक्रमित भेटिन थालेको र चाडपर्वमा हुने भीडभाडले जोखिम बढ्ने निष्कर्षसहित महानगरको मूल समितिको १ भदौमा बसेको बैठकले सोही दिन मध्यरातबाटै निषेधाज्ञा लगाउने जनाएको थियो ।
त्यसबेला महानगरलाई राजनीतिक दलका प्रतिनिधिले कडा निषेधाज्ञा गर्न सुझाएका थिए । तर जिल्ला सिसिएमसीको बैठकबाट निर्णय नहुँदा १ भदौबाट बन्दाबन्दी सुरु भएन । २ भदौमा बसेको जिल्ला सिसिएमसीको बैठकले ७ भदौको मध्यरातसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।