मानिस र चितुवाबीच घम्साघम्सी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    मानिस र चितुवाबीच घम्साघम्सी

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०७७, आईतवार

    लमजुङ : लमजुङको बेशीसहर नगरपालिका ९ साम्दी गाउँमा आइतबार बिहानै चितुवा पस्यो। घरघर डुलेको चितुवाले बालबालिका र बाख्रालगायत घरपालुवा जनावरमाथि आक्रमण गर्न सक्ने ठानेर गाउँलेहरू डराए। चितुवा भगाउन होहल्ला गरे। तैपनि चितुवाले गाउँ छाडेको रहेनछ। पौने आठ बजेतिर चितुवा स्थानीय हरिबहादुर थापाको घरछेउ आइपुग्यो।

    गाउँमा बाँदर पनि आइरहन्थ्यो। ‘गाउँलेहरूले हैट… हैट… गरिरहेका थिए। घरछेउको गल्लीमा केही उफ्रिएजस्तो लाग्यो। बाँदर हो कि भनेर खले गराको डिलबाट गल्लीतिर हेरेकोमात्रै थिएँ, बुर्लुक्क उफ्रेर चितुवा पो ममाथि जाइलाग्यो,’ घाइते थापाले भन्नुभयाे, ‘पाँच मिनेटजति म र चितुवाबीच घम्साघम्सी भइरह्यो।’

    उहाँको हातमा हँसिया रहेछ। ‘कान्लामुनिबाट उफ्रेर आएको चितुवाले मेरो पाखुरामा पहिले चिथोर्‍यो,’ उहाँले भन्नुभयाे, ‘मेरो हातमा पनि हँसिया थियो। हँसियाले हानें। हँसिया चितुवाको नाकमा लागेछ।’ त्यसपछि चितुवा र थापा भुइँमा ढलेछन्। चितुवा उठेर फेरि आक्रमण गर्न आएपछि थापाले चितुवाको घाँटीमै हँसियाले हानिदिनुभयाे।

    ‘एकअर्कोले आक्रमण गरिरह्यौं,’ उहाँले भन्नुभयाे, ‘हातको औंला टोकिदिएको छ। खुट्टाका घुँडामा चिथोरेको छ। पाखुरामा गहिरो गरी नङ्ग्राले कोपरिदिएको छ। तैपनि मैले चितुवालाई छाडिनँ, हँसियाले हानेर मारिदिएँ।’

    थापा अहिले लमजुङ सामुदायिक अस्पतालमा उपचाररत हुनुहुन्छ । ६८ वर्षीय थापा नेपाली सेनाका पूर्वलप्टन हुनुहुन्छ । मारिएको चितुवालाई जिल्ला वन कार्यालयका कर्मचारीले व्यवस्थापन गर्ने तयारी गरेका छन्।

    बेशीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले घाइते थापाको उपचार भइरहेको जानकारी दिनुभयाे ।

    सेताेपाटीबाट साभार

    तस्वीर साैजन्य : दिपक अधिकारी