मनाङ : मनाङमा मङ्गलबार थप दुई जनामा कोरोना पुष्टि भएको छ । स्याङजा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखलाई सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी धु्रव गिरीले जानकारी दिनुभयाे । स्वास्थ्य प्रमुख नै सङ्क्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङका लागि जिल्ला अस्पतालको आकस्मिक सेवाबाहेक अरु सबै बन्द गरिएको मेडिकल अधिकृत डाक्टर सन्तोष अधिकारीले जानकारी दिनुभयाे ।
भरतपुर–१६ घर भई मनाङ ङिस्याङ गाउँपालिकाअन्तरगत पिसाङ आधारभूत विद्यालयमा कार्यरत शिक्षकमा पनि कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको गिरीले बताउनुभयाे। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा मनाङका ४९ र ५१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भएको जनाएको छ ।
‘मनाङका स्वास्थ्य प्रमुख र शिक्षकमा कोरोना सङ्क्रमण देखिएको छ’, मेडिकल अधिकृत अधिकारीले भन्नुभयाे। उहाँका अनुसार दुवै सङ्क्रमित गत साउन २० गते मनाङ प्रवेश गरेका हुन् । हालसम्म मनाङमा सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ भने एक जना निको भइसकेका छन् । यही भदौ ७ गते सङ्क्रमण पुष्टि भएका दुई शिक्षकको सम्पर्कमा आएका ११५ जनाको पिसिआर परीक्षणका लागि स्वाब नमूना सङ्कलन गरिएकामध्ये आज दुई जनामा सङ्क्रमण पुष्टि भएको हो ।