लमजुङ : लमजुङमा बुधबार मात्रै २३ जनामा कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले वेशीशहर नगरपालिकाको चार वडामा निषेधाज्ञा जारी गरेको छ । प्रशासन कार्यालयले वेशीशहर नगरपालिका वडा नं २, ३, ७ र ८ को सम्पूर्ण बजार क्षेत्रभित्र भदौ १० गते बुधबार दिउँसो ३ बजेदेखि भदौ १७ गते साँझ ६ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।
वेशीशहर नगरपालिका वडा नं ७ र ८ का ३ जना स्थानीय र नेपाली सेनाका २० जनामा कोरोना पुष्टि भएपछि प्रशासनले एक साताका लागि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी गरिएकाले पालना नगरे कारवाही गरिने प्रशासनले जनाएको छ ।
निषेधाज्ञा अवधिभर औषधि उपचार, खाद्यवस्तु खरिद, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्ने जस्ता आवश्यक काम गर्न पाइनेछ । त्यस्तै एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्यवस्तु, तरकारी, दूध, खानेपानी, शववाहन, फोहर व्यवस्थापन, पशुपंक्षीका दाना बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका सवारी साधन सञ्चालन गर्न पाइनेछ ।
अत्यावश्यक उपभोग्य वस्तु विक्री गर्ने खाद्यान्न तथा तरकारी पसल, पेट्रोलपम्प, ग्यास डिपो, औषधि पसल बाहेक सम्पूर्ण पसल, उद्योग, व्यवसाय बिहान ६ बजेदेखि ९ बजेसम्म खोल्न पाइन्छ ।