एजेन्सी : स्टार फुटबल खेलाडी लियोनेल मेस्सीले बार्सिलोना छाड्न चाहेको पुष्टि भएको छ । उनले छाड्न चाहेको पत्र फ्याक्स मार्फत् क्लबलाई मंगलबार प्राप्त भएको क्लबले जनाएको हो ।
बार्सिलोनाले च्याम्पियन्स लिगको क्वाटर फाइनलमा बायर्न म्युनिकसँग ८-२ ले लज्जास्पद हार व्यहोरेपछि मेस्सीले क्लब छाड्ने चर्चा चलेको थियो । उनले बार्सिलोनासँगको करिब दुई दशक लामो कन्ट्राक्ट अन्त्य गर्न चाहेका हुन् । उनको कन्ट्राक्ट सन् २०२१ मा सकिदैछ ।
मेस्सीले सन् २००४ मा बार्सिलोनामा डेब्यू गरेका थिए । मेस्सीले क्लबलाई १० स्पेनिस लिग उपाधि र ४ च्याम्पियन्स लिग जिताएका थिए । त्यस्तै ६ पटकसम्म बालन डि’अर जितेर रेकर्ड कायम गरेका छन् ।
मेस्सीले बार्सिलोना छोड्न चाहेको समाचारमा क्लबका पूर्व कप्तान कार्ल पुयोलले उनको चाहनालाई सम्मान गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । ‘लियोलाई सम्मान र प्रशंसा छ’, उनले ट्वीटरमा भनेका छन् ।