स्याङ्जा : स्याङ्जामा पुन: एक साताका लागि निषेधाज्ञा थप गरिएकाे छ । बिहीबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले जारी निषेधाज्ञालाई एक हप्ता भदौ १८ गते सम्म बढाउने निर्णय गरेको हो ।
स्याङ्जामा कोरोना सङ्क्रमणकाे दर घट्दो क्रममा रहे पनि छिमेकी कास्की लगायतका जिल्लामा सङ्क्रमण समुदाय स्तरमा बढ्दै गएकाे भन्दै स्याङ्जा पनि उत्तिकै जोखिममा रहेको निष्कर्ष निकालेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
निषेधाज्ञाको अवधिमा अति आवश्यक सेवा बाहेक अन्य सबै बन्द रहने प्रजिअ क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार सार्वजनिक तथा निजी सवारी पूर्ण रुपमा बन्द रहनेछन् भने सरकारी तथा अति आवश्यक सेवाका कर्मचारी आवतजावतका लागि निश्चित समय निर्धारण गरिएको छ ।