तनहुँ : गण्डकी प्रदेशमा शुक्रबार ६० जना नयाँ संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा भएको पिसीआर परीक्षणमा चार जिल्लामा उक्त सङ्ख्यामा सङ्क्रमित थपिएका हुन् ।
सबैभन्दा धेरै लमजुङमा २६ जना सङ्क्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ । निर्देशनालयका अनुसार कास्कीमा १७, नवलपरासी बर्दाघाट सुस्तापुर्वमा १३ र तनहुँमा चार जनालाई सङ्क्रमणको पुष्टि भएको छ ।
शुक्रबार पोखरा महानगरपालिका–१६ का ५२ वर्षीय पुरुषले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसंगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या दुई हजार ६४ पुगेको छ । तीमध्ये एक हजार ६ सय ८९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने १० जनाको मृत्यु भएको छ । प्रदेशमा सक्रिय सङ्क्रमित तीन सय ३७ जना आईसोलेसनमा उपचाररत छन् । आठ सय ३० जना क्वारेन्टिनमा छन् ।